निर्मला पन्त हत्या प्रकरणबारे गृहमन्त्रीले भने – म उत्तर दिन चाहन्नँ

निर्मला पन्त हत्या प्रकरणबारे गृहमन्त्रीले भने – म उत्तर दिन चाहन्नँ


काठमाडौं । कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्या प्रकरणबारे राष्ट्रिय सभामा उठाइएको प्रश्नमा गृहमन्त्री सुधन गुरुङले विस्तृत जवाफ दिन अस्वीकार गरेका छन् । उनले घटनाको अनुसन्धान जारी रहेको उल्लेख गर्दै यस विषयलाई संसद्‌मा बारम्बार उठाउन नहुने धारणा राखे ।

बिहीबार राष्ट्रिय सभाको प्रश्नोत्तर कार्यक्रममा सांसद विष्णुबहादुर विश्वकर्माले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानको वर्तमान अवस्था र दोषी कहिले पक्राउ पर्छन् भन्ने प्रश्न गरेका थिए ।

जवाफ दिने क्रममा गृहमन्त्री गुरुङले उक्त मुद्दा अत्यन्त संवेदनशील रहेको भन्दै धेरै कुरा सार्वजनिक रूपमा भन्न नमिल्ने बताए ।

“यो विषय एकदमै संवेदनशील छ । सूक्ष्म ढंगले अनुसन्धान भइरहेको छ । धेरै कुरा बोल्न सक्दिनँ, बोल्नु पनि हुँदैन,” उनले भने ।

उनले प्रश्नकर्तातर्फ संकेत गर्दै विगतको सरकारतर्फ पनि प्रश्न तेर्स्याए ।

“हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?” भन्दै उनले यस विषयमा राजनीतिक आरोप–प्रत्यारोपभन्दा अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने बताए ।

गृहमन्त्री गुरुङले संसद्‌मा यो विषय बारम्बार उठाउँदा पीडित परिवारको पीडा थप बल्झिने तर्क पनि गरे ।

“आमाको घाउलाई संसद्‌मार्फत बारम्बार कोट्याइरहने हो कि न्याय दिने हो?” उनले प्रश्न गरे ।

उनले सांसदहरूलाई निर्मला पन्त हत्या प्रकरणलाई सदनमा पटक–पटक नउठाउन आग्रह गर्दै, आवश्यक जिज्ञासा भए व्यक्तिगत रूपमा सोध्न सकिने बताए ।

“यो प्रश्न सदनमा नउठाइदिनुहुन अनुरोध गर्दछु । केही कुरा भए व्यक्तिगत रूपमा सोध्नुहोला । यो विषय बारम्बार कोट्याउन हुँदैन,” गृहमन्त्रीले भने ।

त्यसपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सांसद विश्वकर्मालाई पूरक प्रश्न सोध्ने अवसर दिएका थिए । विश्वकर्माले प्रश्न सोध्नु आफ्नो संवैधानिक तथा विधायिकी अधिकार भएको उल्लेख गर्दै पुनः “निर्मलाका हत्यारा कहिले पक्राउ पर्छन्?” भनेर जिज्ञासा राखेका थिए ।

अध्यक्षले पुनः जवाफ दिन समय दिएपछि गृहमन्त्री गुरुङले संक्षिप्त प्रतिक्रिया दिँदै भने, “म यसको उत्तर दिन चाहन्नँ ।”