काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारले गरेका सहमति कार्यान्वयन, विद्यालय शिक्षा ऐन जारी गर्नेलगायत माग पूरा नभए भदौ महिनादेखि आन्दोलनमा उत्रिने निर्णय गरेको छ ।
महासंघको तेस्रो राष्ट्रिय परिषद्ले साउन १६ र १७ गते काठमाडौंमा सम्पन्न बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै सरकारसँग भएका सहमति कार्यान्वयनमा ढिलाइ भएको भन्दै आन्दोलनको घोषणा गरेको हो । आन्दोलनको मिति र कार्यक्रम तय गर्ने अधिकार विस्तारित कार्यालयीय बैठकलाई दिइएको महासंघले जनाएको छ ।
महासंघले नेपाल सरकार र आफूहरूबीच भएका सहमतिअनुसार विद्यालय, विद्यार्थी, शिक्षक तथा कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन शीघ्र जारी गर्न सरकार र संघीय संसदसँग माग गरेको छ ।
परिषद्ले आर्थिक वर्ष २०८३/८४ को बजेटमा प्रारम्भिक बालकक्षा शिक्षक, विद्यालय कर्मचारी र सिकाइ अनुदान शिक्षकलाई तलब वृद्धि, प्रोत्साहन भत्ता तथा महँगी भत्ताबाट वञ्चित गरिएको भन्दै त्यसको विरोध गरेको छ । ती शिक्षक–कर्मचारीलाई पनि समान सुविधा उपलब्ध गराउन सरकारसँग माग गरिएको छ ।
त्यस्तै, मन्त्रिपरिषद्ले २०८२ वैशाख १७ गते गरेको स्थानीय (दुर्गम) भत्ता सम्बन्धी निर्णय अझै कार्यान्वयन नभएको भन्दै सम्बन्धित क्षेत्रका सबै शिक्षकलाई निजामती कर्मचारीसरह भत्ता उपलब्ध गराउन महासंघले माग गरेको छ ।
महासंघले राहत, साविक उमावि, अस्थायी करार, बालकक्षा, सिकाइ अनुदान, विशेष शिक्षा तथा प्राविधिक धारलगायतका अस्थायी प्रकृतिका शिक्षकको पेसागत सुरक्षा, स्थायित्व र सेवा–सुविधाको सुनिश्चितता गर्न सरकारसँग माग गरेको छ । साथै प्रारम्भिक बालकक्षाका शिक्षक, विद्यालय कर्मचारी र सिकाइ अनुदान शिक्षकका लागि दरबन्दी सिर्जना गरी तलब–भत्ताको व्यवस्था गर्नुपर्ने निर्णय पनि परिषद्ले गरेको छ ।
महासंघले शिक्षक–कर्मचारीसँग सम्बन्धित मन्त्रिपरिषद्को ९ बुँदे निर्णय शीघ्र कार्यान्वयन गर्न, सामुदायिक विद्यालयका विद्यार्थीका लागि छात्रवृत्ति र दिवा खाजा रकम वृद्धि गर्न तथा विद्यालयको पानी र विद्युत् महसुल छुट गर्न सरकारसँग आग्रह गरेको छ ।
परिषद्ले शिक्षामा कुल बजेटको २० प्रतिशत लगानी सुनिश्चित गर्न तथा संविधानअनुसार आधारभूत तहसम्मको शिक्षा निःशुल्क र अनिवार्य तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क बनाउने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि सरकारसँग माग गरेको छ ।
त्यसैगरी विद्यालय तहका शिक्षक–कर्मचारीको आधिकारिक पेसागत संस्था नेपाल शिक्षक महासंघलाई थप सुदृढ र स्वायत्त बनाउने गरी कानुनी व्यवस्था गर्न तथा शिक्षकहरूको ट्रेड युनियन अधिकारको सम्मान गर्न सरकारसँग आग्रह गरिएको छ ।
महासंघले २०८१/८२ मा भएको ८९ दिने आन्दोलन तथा २९ दिने काठमाडौं केन्द्रित शैक्षिक आन्दोलनमा सहभागी शिक्षक–कर्मचारीप्रति आभार व्यक्त गरेको छ भने आन्दोलनका क्रममा घाइते भएका तथा रिले अनशनमा बसेका शिक्षकहरूको योगदानको प्रशंसा गरेको छ ।
यसैबीच परिषद्ले सुनसरीको कप्तानगञ्जबाट सुरु भई मधेश प्रदेशका विभिन्न जिल्लामा फैलिएको साम्प्रदायिक हिंसाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति बहाली, पीडितलाई क्षतिपूर्ति र सामाजिक सद्भाव कायम गर्न सरकारसँग माग गरेको छ ।
साथै पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परी ज्यान गुमाएका कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जासहित सबै पर्वतारोहीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया