कर्णालीका चार सहिदको स्मृतिमा दीप प्रज्ज्वलन

कर्णालीका चार सहिदको स्मृतिमा दीप प्रज्ज्वलन


कर्णाली। कर्णाली प्रदेश स्थापनाका लागि आफ्नो जीवन आहुति दिने यहाँका चार सहिदको स्मृति दिवसका अवसरमा दीप प्रज्ज्वलन गरिएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरको वीरेन्द्र चोकमा सोमबार अबेर दीप प्रज्ज्वलन गरिएको हो । प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले दीप प्रज्ज्वलन गरी प्रदेश स्थापनार्थ आफ्नो प्राण बलिदान गर्ने कर्णालीका चार सहिद हरिबहादुर कुँवर (जुम्ला) यामबहादुर विसी, टीकाराम गौतम र गोपालसिंह रजवार (सुर्खेत)को स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो, “कर्णाली र मुलुकका लागि आफ्नो जीवन बलिदान दिने चारैजना सहिदप्रति उच्च सम्मान प्रकट गर्दै उनीले देखाएको सपना र बाटोमा सरकार निरन्तर अगाडि बढ्ने प्रतिबद्धता गर्दछ ।”

सहिदको सपनाको दियो कहिल्यै निभ्न नदिने भन्दै मुख्यमन्त्री शाहीले सामाजिक न्याय र समनताका लागि नागरिकले ज्यान गुमाउनुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुन नदिने सबैको साझा प्रतिबद्धता अपरिहार्य भएको बताउनुभयो ।

आयोजक यामबहादुर विसी प्रतिष्ठानका अध्यक्ष भगवती विसीले विसं २०७२ साउन २३ देखि भदौ ४ गतेसम्म भएको कर्णाली आन्दोलनमा आफ्नो जीवनउत्सर्ग गर्ने सहिदको ११औँ स्मृति दिवसको अवसरमा दीप प्रज्ज्वलन गरिएको बताउँदै भदौ ४ गतेसम्म विभिन्न कार्यक्रम गरिने जानकारी दिनुभयो ।