कांग्रेस महाधिवेशनमा ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने, खुलामञ्चमा तयारी तीव्र

कांग्रेस महाधिवेशनमा ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने, खुलामञ्चमा तयारी तीव्र


काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने भएका छन् ।

असोज १८ देखि २२ गतेसम्म काठमाडौंको खुलामञ्चमा हुने महाधिवेशनको उद्घाटन र बन्दसत्र दुवै खुलामञ्चमै गर्ने तयारी भइरहेको छ ।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार अहिलेसम्म ७ हजार २८ जना महाधिवेशन प्रतिनिधि तय भइसकेका छन् । भ्रातृ तथा शुभेच्छुक संस्थाबाट सहभागी हुने प्रतिनिधिको संख्या भने अझै टुंगिन बाँकी छ ।

त्यस्तै, सभापति गगन थापाले ७५ जना महाधिवेशन प्रतिनिधि मनोनीत गर्न बाँकी छ । भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि र मनोनीत प्रतिनिधिसहित महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने कांग्रेसको अनुमान छ ।

कांग्रेसको १४औं महाधिवेशनमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि सहभागी भएका थिए । त्यतिबेला प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट २५ जनाका दरले महाधिवेशन प्रतिनिधि आउने व्यवस्था थियो ।

यसपटक भने प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ३३ जनाका दरले प्रतिनिधि आउने व्यवस्था गरिएको छ ।