काठमाडौं । पूर्वगृहमन्त्री एवं अधिवक्ता ओमप्रकाश अर्याललाई पक्राउ गरी अनुसन्धान गर्ने तयारी सरकारले गरेको दाबी गरिएको छ। ‘घटना र विचार’ले प्राप्त गरेको सूचनाअनुसार म्यादी प्रहरीको पोसाक खरिदमा अनियमितता भएको आरोपमा अर्यालमाथि अनुसन्धान अघि बढाउने तयारी भइरहेको दाबी गरिएको हो। यद्यपि, अर्याललाई पक्राउ गर्ने विषयमा सरकार वा सम्बन्धित निकायबाट औपचारिक पुष्टि भइसकेको छैन।
गत निर्वाचनको पूर्वसन्ध्यामा अर्यालले नागरिकलाई सम्बोधन गर्दै अपरिपक्व उम्मेदवारलाई मतदान नगर्न र समाज तथा देश बुझेका इमानदार, देशभक्त तथा परिपक्व उम्मेदवारलाई मतदान गर्न आह्वान गरेका थिए। उक्त अभिव्यक्तिलाई लिएर वर्तमान सत्तारुढ पक्ष उनीप्रति असन्तुष्ट रहेको स्रोतको दाबी छ।
सूचनाअनुसार सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचनको ३२ दिनअघि म्यादी प्रहरी भर्नाका लागि प्रक्रिया अघि बढाएको थियो। नेपाल प्रहरीतर्फ १ लाख १८ हजार र सशस्त्र प्रहरीतर्फ १५ हजार गरी १ लाख ३३ हजार म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरिएको थियो। म्यादी प्रहरीका लागि आवश्यक पोसाक, जुत्ता, टोपी, लाठी र मोजालगायत सामग्री खरिदका लागि गृह मन्त्रालयले मापदण्ड बनाएर मातहतका कार्यालयलाई निर्देशन दिएको र कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत म्यादी प्रहरीको व्यक्तिगत खातामा रकम पठाइएको दाबी गरिएको छ। टेन्डर प्रक्रिया पूरा गर्न पर्याप्त समय नभएका कारण वैकल्पिक प्रक्रियाबाट खरिद गरिएको र त्यसैक्रममा अनियमितता भएको हुनसक्ने भन्दै अर्यालमाथि अनुसन्धान गर्ने तयारी भएको स्रोतको दाबी छ।

प्रतिक्रिया