काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारलाई पाँच वर्षसम्म निरन्तरता दिनुपर्ने बताएका छन् ।
राजनीतिक स्थिरता कायम गर्न सरकारलाई पूरा कार्यकाल काम गर्न दिनुपर्ने उनको भनाइ छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै थापाले सरकारको आन्तरिक विषयमा आफूहरू हस्तक्षेप गर्ने पक्षमा नरहेको स्पष्ट पारे । उनले आगामी निर्वाचन पनि यही सरकारले गराउनुपर्ने धारणा राखे ।
“रास्वपाको सरकार पाँच वर्षसम्म निर्वाध चल्नुपर्छ । अर्को चुनाव यही सरकारले गर्नुपर्छ । आन्तरिक कुरामा खेल्न चाहँदैनौँ, खेल्दैनौँ,” थापाले भने ।
तर, आगामी निर्वाचनमा कांग्रेस बलियो शक्तिका रूपमा प्रस्तुत हुने उनले बताए । “सो चुनावमा हामी बलियो बनेर उभिन्छौँ, आउँछौँ,” उनले भने ।
थापाले विगतमा बहुमत प्राप्त सरकारहरू आफ्नो आन्तरिक द्वन्द्व व्यवस्थापन गर्न नसक्दा अस्थिरता निम्तिएको बताए । सरकार सञ्चालन गर्ने दलभित्रको कमजोरीमा विपक्षीले समेत आफ्नो राजनीतिक लाभ खोजेर खेल्दा त्यसको मूल्य लोकतन्त्र र देशले चुकाउनुपरेको उनको भनाइ छ ।
कांग्रेसले अहिलेको सरकारलाई अस्थिर बनाउने खेलमा सहभागी नहुने उनले स्पष्ट पारे । प्रतिपक्षमा रहे पनि कांग्रेस सरकारको “दुश्मन” नभएको थापाले बताए ।
यद्यपि, सरकारले गरेका कामको मूल्यांकन गर्दै आवश्यकताअनुसार प्रश्न उठाउने र गुण–दोषका आधारमा सरकारको आलोचना गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया