गगन थापाले देउवालाई भने– ‘दाइ, तपाईंलाई फेरि ढाँटे, अलमल्याए’

गगन थापाले देउवालाई भने– ‘दाइ, तपाईंलाई फेरि ढाँटे, अलमल्याए’


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवामाथि पार्टीभित्रैबाट गलत सूचना र आश्वासन दिएर अलमल्याउने काम भएको टिप्पणी गरेका छन्।

सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले देउवालाई सम्बोधन गर्दै आफूलाई केही कुरा भन्नुपर्ने बताएका थिए। उनले चुनदेवी सम्पर्क कार्यालयमा ‘शेरबहादुर देउवा, सभापति’ लेखिएको नेमप्लेट राखिएको प्रसंगसमेत उठाए।

‘दाइ, तपाईंलाई साथीहरूले नेमप्लेट राखेर सभापति भनेर राखिदिएछन्, मलाई अलिकति नरमाइलो लाग्यो,’ थापाले भने।

साउन २८ गते चुनदेवीस्थित सम्पर्क कार्यालयमा देउवाको नाम र ‘सभापति’ पद उल्लेख गरिएको नेमप्लेट राखिएको थियो। संस्थापनइतर समूहको साउन २९ गते आयोजित राष्ट्रिय भेला उद्घाटनका क्रममा पूर्णबहादुर तामाङ (कान्छाराम)ले उक्त नेमप्लेट आफूले कसैलाई नसोधी राखिदिएको बताएका थिए।

थापाले विगतका केन्द्रीय समिति तथा पदाधिकारी बैठकमा आफूहरूले दिएका सुझावलाई बेवास्ता गरिएको बताए। उनका अनुसार ‘यसो नगरौं’ भनेर सचेत गराउनेहरूलाई पराईजस्तो व्यवहार गरियो।

‘जसले वरिपरि बसेर धूप बाले ती आफ्ना लागे, आफ्नाले डुबाए दाइ, फेरि डुबाउँछन्, यसको चिन्ता हो,’ थापाले भने।

थापाले भदौ २२, २३ र २४ गतेसम्म पनि आफूहरू देउवासँग संवादमा रहेको उल्लेख गरे। असोज २८ गते देउवाले तत्कालीन उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको स्मरण गर्दै त्यसपछि पनि आफूहरूले देउवाप्रति सम्मान कायम राखेको बताए।

तर त्यसपछि देउवालाई पुनः सक्रिय हुन बोलाउने क्रममा विभिन्न आश्वासन दिइएको थापाको भनाइ छ।

‘फेरि तपाईंलाई लिन आए, फेरि बोलाउन आए साथीहरू। दाइ, सबै कुरा भइसक्यो नेपालमा। आउनुपर्‍यो भनेर आए। कसैले तपाईंलाई संसद् पुनर्स्थापना हुँदैछ भनेर बोलाए। कसैले होइन, सबै ठीक हुँदैछ भनेर बोलाए। फेरि ढाँटे दाइ, अलमल्याए,’ थापाले भने।