हेटौँडा । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलियालाई नै निरन्तरता दिँदै मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने सहमति भएको छ ।
मंगलबार हेटौँडामा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले थपलियालाई दलको नेतामै कायम राख्ने र थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यसअघि थपलियाविरुद्ध एमालेका १६ प्रदेशसभा सदस्यले अविश्वास प्रस्ताव दर्ता गर्दै थापालाई दलको नेता बनाउन माग गरेका थिए । पार्टी नेतृत्वको पहलमा दलको नेतृत्व परिवर्तन नगरी थापालाई मुख्यमन्त्रीमा अघि सार्ने सहमति जुटाइएको हो ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) अनुसार बहुमतको दाबी पेस गर्न आह्वान गरिसकेका छन् । बिहीबार अपराह्न ४ बजेसम्म दाबी पेस गर्ने समय तोकिएको छ ।
एमाले–नेकपा गठबन्धनसँग ५१ सांसद रहेकाले बहुमतका लागि थप दुई सांसद आवश्यक पर्नेछ ।

प्रतिक्रिया