देउवालाई पदमुक्त गर्ने सभामुखको निर्णयमा कांग्रेसको विरोध

देउवालाई पदमुक्त गर्ने सभामुखको निर्णयमा कांग्रेसको विरोध


कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले सभामुखको भूमिकामाथि प्रश्न उठाएका छन् ।

११ महिनादेखि अमेरिकामा रहेका कांग्रेस सांसद प्रकाश देउवालाई सभामुख भीम भण्डारीले हिजो पदमुक्त गरेपछि शाहले उक्त निर्णयमा सभामुखले बदनियत राखेको आरोप लगाएका हुन् । आज पत्रकारहरूसँग कुरा गर्दै शाहले सभामुखको निर्णय पक्षपाती भएको दाबी गरे ।

मुख्यमन्त्री खगराज भट्टले आज विश्वासको मत लिने तयारी गरिरहेका बेला त्यसलाई प्रभावित पार्ने उद्देश्यले कांग्रेस सांसद देउवालाई पदमुक्त गरिएको शाहको जिकिर छ ।

‘आज विश्वासको मतका लागि सरकारले तयारी गरेको छ । सोही तयारीलाई सहज बनाउन सभामुखज्यूले प्रकाश देउवालाई एक्कासि पदमुक्त गर्नुभयो,’ शाहले भने, ‘सभामुखले पक्षपाती निर्णय गर्नुभयो । यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

प्रदेशसभा सदस्य प्रकाश देउवाले आफू अनुपस्थित रहेको जानकारी गराए पनि सभामुखले एकपटकसमेत सोधखोज नगरी पदमुक्त गरेको भन्दै शाहले विरोध जनाए ।

यसअघि साविक नागरिक उन्मुक्ति पार्टीकी सांसद इन्दिरा गिरीलाई पनि प्रदेशसभा सदस्यबाट हटाइएको र सर्वोच्च अदालतले पुनर्बहाली गरेको उदाहरण दिँदै शाहले अहिले पनि कानुनी उपचारको बाटो खुला रहेको बताए ।

‘कुनै पनि प्रदेशसभा सदस्यलाई हटाउँदा एकपटक सोधपुछ गर्नुपर्छ । यसअघि पनि यस्तै प्रकारका घटना भएका छन्,’ उनले भने ।

सभामुखले दलीय मान्यतालाई आधार बनाएर प्रदेशसभाको अंकगणितलाई हेरी निर्णय गर्न नहुने शाहको भनाइ छ । ‘सभामुखले दलीय मान्यतालाई आधार बनाएर दलको अंकगणित हेरी सभामुखको भूमिका निर्वाह गर्नुहुँदैन । यस्ता प्रकारका घटना दोहोरिनु हुँदैन,’ उनले भने ।

सभामुखको निष्पक्ष भूमिकाका लागि आफूहरूले सहयोग गर्ने बताउँदै शाहले सभामुखबाट भएका यस्ता गतिविधिको विरोध गरिरहने बताए ।

आज मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत लिँदा कांग्रेसले विपक्षमा मतदान गर्ने पनि निवर्तमान मुख्यमन्त्री शाहले जानकारी दिए ।