बागमतीको मुख्यमन्त्रीमा किरण नियुक्त हुँदै, बिहीबार शपथ

बागमतीको मुख्यमन्त्रीमा किरण नियुक्त हुँदै, बिहीबार शपथ


हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका प्रदेशसभा सदस्य किरण थापामगर नियुक्त हुने भएका छन् । प्रदेश प्रमुखको कार्यालयले थापामगरलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरी शपथ गराउने कार्यक्रम तय गरेको छ ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न आह्वान गरेका थिए । सोही आह्वानअनुसार थापामगरले एमाले, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित तीन दलको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार थापामगरलाई भदौ ४ गते बिहीबार अपराह्न ४ः०५ बजे बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्ने कार्यक्रम छ ।

त्यसपछि भदौ ४ गते बिहीबार नै अपराह्न ४ः२० बजे मुख्यमन्त्रीको शपथ ग्रहण समारोह आयोजना हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार शपथ ग्रहण समारोहमा उपस्थित हुने महानुभावहरूलाई औपचारिक पोसाकमा उपस्थित हुनसमेत अनुरोध गरिएको छ ।

यसअघि प्रदेश प्रमुख देवकोटाले नयाँ सरकार गठनका लागि भदौ ४ गते बिहीबार अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।

थापामगरले एमाले, नेकपा र राप्रपाको समर्थनमा बहुमतसहित दाबी पेस गरेका हुन् । यसअघि बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको थियो ।