वागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापामगर नियुक्त

वागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापामगर नियुक्त


काठमाडौं । वागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका सांसद किरण थापा मगर नियुक्त भएका छन्।

प्रदेश प्रमुख दीपक देवकोटाले बिहीबार थापा मगरलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनले बुधबार एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

नयाँ सरकार गठनसँगै मन्त्रालय भागवण्डामा समेत दलहरूबीच सहमति भएको छ। सहमतिअनुसार एमालेले मुख्यमन्त्रीसहित तीन मन्त्रालय, राप्रपाले तीन मन्त्रालय र नेकपाले दुई मन्त्रालय पाउनेछन्।

यद्यपि, सरकार गठनका लागि राप्रपाका संसदीय दलका नेता उद्धव थापाले समर्थन गरेपछि पार्टीभित्र विवाद उत्पन्न भएको छ। राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले बिहीबार थापालाई संसदीय दलको नेता र पार्टीको साधारण सदस्यबाट हटाउन सिफारिस गर्ने निर्णय गरेको थियो।

यसअघि वागमती प्रदेशमा एमालेको समर्थनमा नेपाली कांग्रेस नेतृत्वको सरकार थियो। कांग्रेसका इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री रहेका थिए।