कर्णाली। कर्णाली प्रदेशसभा सदस्यले प्राकृतिक विपद्बाट भएको क्षति, प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनालगायतका विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
कर्णाली प्रदेशसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले हुम्लाको नेप्का, कालिकोटको दाहाँ र जाजरकोटको रिसाङमा प्राकृतिक विपद्बाट ठूलो क्षति भएको बताउनुभयो । उहाँले विपद् प्रभावितलाई तत्काल राहत उपलब्ध गराएर सरकार भएको अनुभूति गराउन आग्रह गर्नुभयो ।
विकट भूगोल, कमजोर सडक पूर्वाधार, नदीनाला र भिरालो जमिनका कारण कर्णाली विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै नेता शाहीले प्रभावितलाई समयमै उचित राहत उपलब्ध गराउन आग्रह गर्नुभयो ।
पूर्वमुख्यमन्त्री एवं प्रदेशसभा सदस्य राजकुमार शर्माले प्रदेशसभा सदस्यहरूले उठाएका विषयलाई दलगत दृष्टिकोणबाट नभई अध्ययन गरेर सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेशलाई सङ्घीयताको बलियो आधारका रूपमा विकास गर्न प्रदेश सरकारलाई स्वायत्त ढङ्गले काम गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।
प्रदेशसभा सदस्य सुरेश अधिकारीले सरकारले नागरिकलाई अनुभूति हुनेगरी सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । प्रदेशसभा सदस्य दक्षिणा शाहीले कालिकोटको खाँडाचक्र नगरपालिका–६ कालिकोट दाहाँस्थित इम्रीमा बाढी र पहिरोका कारण गाईवस्तु, अन्नपात तथा घरमा क्षति भएकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा प्रदेशसभा सदस्य कल्याणी खड्काले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हित र अधिकार संरक्षणका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
त्यस्तै, प्रदेशसभा सदस्यहरू उर्मिला विश्वकर्मा, वेदराज सिंह र देवेन्द्र शाहीले जाजरकोट, कालिकोट, हुम्ला र रुकुमपश्चिममा पहिरोका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडितपरिवारलाई तत्काल राहत तथा पुनःस्थापना गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा सभामुख नन्दा गुरुङले विशेष समयमा प्रदेशसभा सदस्यहरूले उठाएका विषयमा सम्बन्धित मन्त्रीले सात दिनभित्र जवाफ दिन रुलिङ गर्नुभयो।

प्रतिक्रिया