काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गाँजाको व्यावसायिक उत्पादन तथा औषधिजन्य प्रयोगलाई कानुनी दायरामा ल्याउने विषयमा सरकार सकारात्मक रहेको बताएका छन् ।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले गाँजा खेतीलाई व्यवस्थित र नियन्त्रित रूपमा अघि बढाउन आवश्यक कानुनी व्यवस्था गर्न अर्थ मन्त्रालयले सहजीकरण गर्ने बताए ।
उनका अनुसार गाँजाको व्यावसायिक उत्पादन र बजारीकरणलाई केवल राजस्व तथा रोजगारी सिर्जनासँग मात्र जोडेर हेर्न नहुने भन्दै यसको औषधीय उपयोग र नियन्त्रित प्रयोगको सम्भावनालाई समेत ध्यान दिन आवश्यक छ ।
गाँजा खेतीसम्बन्धी विज्ञहरूको अध्ययन र निष्कर्षका आधारमा कानुन निर्माण गरी व्यवस्थित गर्न सके अर्थ मन्त्रालयले पूर्ण सहयोग गर्ने उनले बताए ।
वाग्लेले विगतमा विकसित मुलुकहरूको दबाबका कारण गाँजामाथि प्रतिबन्ध लगाइएको भए पनि अहिले तीमध्ये धेरै मुलुकले यसको नियन्त्रित प्रयोग र उत्पादनतर्फ खुलापन अपनाइरहेको उल्लेख गरे । त्यसकारण नेपालले पनि गाँजाको सम्भावनालाई सकारात्मक ढंगले अघि बढाउनुपर्ने उनको भनाइ छ ।
‘गाँजाको व्यावसायिक र औषधिजन्य उपयोगका बारेमा सार्वजनिक बहस भइरहेको छ । विगतका बजेटमा पनि यसको सम्भाव्यता अध्ययन गर्ने विषय समेटिएको छ,’ उनले भने, ‘यसलाई मैले गम्भीरतापूर्वक लिएको छु । गृहमन्त्री र गृह मन्त्रालयसँग समन्वय गरी प्राथमिकताका साथ अघि बढाउने आश्वासन दिन चाहन्छु ।’
गाँजा खेतीलाई कानुनी मान्यता दिने विषय मुख्यतः गृह मन्त्रालयको कार्यक्षेत्रमा पर्ने भएकाले आवश्यक अध्ययन र कानुनी प्रक्रियाका लागि गृह मन्त्रालयसँग समन्वय गरिने उनले बताए ।
अर्थमन्त्री वाग्लेले औद्योगिक प्रवर्द्धन, रोजगारी सिर्जना र सरकारी राजस्व वृद्धिको सम्भावनालाई समेत ध्यानमा राखेर गाँजा खेतीसम्बन्धी विषयलाई अर्थ मन्त्रालयले प्राथमिकतामा राख्ने बताए ।
उनले यस विषयलाई लामो समयसम्म अल्झाइराख्नुको सट्टा आवश्यक अध्ययन र कानुनी निर्क्यौल गरेर निष्कर्षमा पुर्याउन आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया