नौ दिनपछि खुल्यो जाजरकोट–डोल्पा सडक

नौ दिनपछि खुल्यो जाजरकोट–डोल्पा सडक


जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–१० र ११ को सीमाक्षेत्र ताक्सुगाडमा आएको बाढीले बगाएको भेरी करिडोर सडक नौ दिनपछि पुनः सञ्चालनमा आएको छ । बाढीले सडकसँगै पुल र चारवटा घर बगाएपछि पूर्ण रूपमा अवरुद्ध भएको जाजरकोट–डोल्पा सडकखण्ड नलगाड नगरपालिकाको समन्वयमा भेरी करिडोर सडक आयोजनाले मर्मत गरेपछि यातायात पुनः सञ्चालनमा आएको हो ।

सडक खुलेसँगै जाजरकोटबाट डोल्पाको त्रिपुराकोट, छलगाडलगायतका क्षेत्रमा जाने सवारीसाधन सञ्चालनमा आएका छन् । तर, ताक्सुगाडमा पानीको बहाव बढ्नेबित्तिकै सडक फेरि अवरुद्ध हुन सक्ने जोखिम भने अझै कायमै रहेको स्थानीयको भनाइ छ ।

ताक्सुगाड खोलामा आएको बाढीले सडक संरचनामा ठूलो क्षति पुर्‍याउनुका साथै पुल बगाएको थियो । चारवटा घरसमेत बग्दा स्थानीय विस्थापित भएका थिए । सडक अवरुद्ध भएपछि जाजरकोटबाट डोल्पातर्फ जाने सम्पूर्ण यातायात सेवा ठप्प बनेको थियो । यात्रु, स्थानीय बासिन्दा तथा दैनिक उपभोग्य सामग्री बोकेका सवारीसाधन बीच बाटोमै रोकिएका थिए । डोल्पातर्फ खाद्यान्न, औषधि र अन्य अत्यावश्यक सामग्रीको ढुवानीसमेत प्रभावित भएको थियो ।

बाढीपछि नलगाड नगरपालिकाले भेरी करिडोर सडक आयोजनासँग समन्वय गरेर तत्काल सडक मर्मतको काम अघि बढाएको थियो । अस्थायी रूपमा सडक सञ्चालनयोग्य बनाएपछि नौ दिनपछि यातायात पुनः सञ्चालनमा आएको हो ।

नलगाड–१२ का स्थानीय तेजबहादुर विकका अनुसार लामो समयसम्म सडक बन्द हुँदा यात्रु र स्थानीयले ठूलो सास्ती खेप्नुपरेको थियो । सडक खुलेपछि तत्काल राहत मिलेको भए पनि जोखिम पूर्ण रूपमा हटेको छैन ।

ताक्सुगाडको बाढीले सडक र पुल मात्रै होइन, रोली ज्यूलामा निर्माण गरिएको सिँचाइ नहरसमेत क्षतिग्रस्त बनाएको छ । नहर बग्दा स्थानीय किसानको सिँचाइ व्यवस्था प्रभावित भएको छ । नगरप्रमुख डम्बर रावतका अनुसार नहर पुनर्निर्माणका लागि लागत अनुमान तयार पारिएको छ । प्रदेश सरकारअन्तर्गत खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयमार्फत पुनर्निर्माण गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

उनका अनुसार बाढीले क्षति पुर्‍याएका संरचनाको अस्थायी मर्मतले मात्रै समस्या समाधान नहुने भएकाले दीर्घकालीन रूपमा सुरक्षित संरचना निर्माण आवश्यक छ । वर्षायाममा खोलाको बहाव बढ्ने भएकाले भविष्यमा यस्ता क्षति दोहोरिन नदिन बलिया संरचना निर्माण गर्नुपर्ने उनको भनाइ छ ।