काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ।
देउवा समूहले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतमा पुनरावलोकनको प्रक्रिया विचाराधीन रहेकाले त्यसको टुंगो नलागेसम्म १५औँ महाधिवेशनका प्रक्रिया अघि नबढाउन माग गरी निवेदन दिएको हो ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार निवेदनमाथि भदौ ११ गते सुनुवाइका लागि पेसी तोकिएको छ। देउवा समूहको वारेसका रूपमा अधिवक्ता श्रवणकुमार देवले निवेदन दर्ता गराएका हुन्।
सर्वोच्च अदालतले कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादमा पुनरावलोकनका लागि निस्सा दिएपछि उक्त विषय अदालतमा विचाराधीन छ। यही अवस्थामा कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाएकाले त्यसलाई रोक्नुपर्ने देउवा समूहको जिकिर छ।
कांग्रेसले १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ।
देउवा समूहले पुनरावलोकनको मुद्दाको अन्तिम टुंगो नलागेसम्म महाधिवेशनसम्बन्धी सम्पूर्ण प्रक्रिया रोक्न सर्वोच्चसँग अन्तरिम आदेश माग गरेको जनाएको छ।

प्रतिक्रिया