काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबारे आठबुँदे जानकारी दिएका छन्। मन्त्री पुनका अनुसार तिब्बतमा हिमताल फुटेपछि आएको बाढीले रसुवाको टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। उनले बाढीबाट करिब २०० मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरू पूर्ण रूपमा क्षतिग्रस्त भएको जानकारी दिएका छन्।
पुनले दिएको जानकारीअनुसार उद्धार तथा राहतका लागि ११ वटा हेलिकोप्टर परिचालन गरिएको छ। घाइतेहरूलाई त्रिशूली जिल्ला अस्पतालमा ल्याएर उपचार गर्ने व्यवस्था मिलाइएको छ भने अन्य प्रभावितका लागि धुन्चेमा बस्ने व्यवस्था गरिएको छ। त्यस्तै, उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोली प्रभावित क्षेत्रतर्फ परिचालन गरिएको उनले बताएका छन्। भोटेकोशी नदीको शीरतर्फ बाढीको बहाव घट्दै गएको छ । विपद् व्यवस्थापन तथा उद्धारका लागि आवश्यक बजेटको व्यवस्था सरकारले गरिसकेको पनि उनले जानकारी दिएका छन्।

प्रतिक्रिया