चिनियाँ राष्ट्रपति सीको निर्देशन – नेपालसँगको सीमावर्ती क्षेत्रमा उद्धार र राहत वितरण तीव्र पार्नू

चिनियाँ राष्ट्रपति सीको निर्देशन – नेपालसँगको सीमावर्ती क्षेत्रमा उद्धार र राहत वितरण तीव्र पार्नू


काठमाडौं । नेपालमा आएको बाढीपहिरोका कारण चीनसँगको सीमावर्ती क्षेत्रमा मानवीय क्षति भएपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्धार तथा राहतका लागि हरसम्भव प्रयास गर्न निर्देशन दिएका छन् ।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार बुधबार बिहान नेपालको सीमावर्ती क्षेत्रमा आएको पहिरोका कारण दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रस्थित केरुङ (ग्यिरोङ) सीमा बन्दरगाहमा समेत क्षति तथा मानवीय हताहती भएको छ ।

राष्ट्रपति सीले बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धारलाई प्राथमिकता दिन, जोखिममा रहेका मानिसलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा घाइतेहरूको तत्काल उपचार गरी मानवीय क्षति कम गर्न निर्देशन दिएका छन् ।

उनले विपद्को अनुगमन तथा पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउन, वैज्ञानिक ढंगबाट उद्धार कार्य सञ्चालन गर्न र त्यसबाट हुन सक्ने थप विपद् रोक्न आवश्यक कदम चाल्न पनि निर्देशन दिएका छन् ।

सीले अहिले बाढी तथा आँधीबेहरी नियन्त्रणका लागि महत्वपूर्ण समय रहेको भन्दै सबै क्षेत्र तथा सम्बन्धित निकायलाई बाढी नियन्त्रणका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन् । साथै, सम्भावित जोखिम र लुकेका खतराको पहिचान तथा न्यूनीकरणलाई तीव्र बनाउन र ठूलो विपद् तथा दुर्घटना रोक्न उनले जोड दिएका छन् ।

यसैबीच, चिनियाँ प्रधानमन्त्री ली छियाङले पनि बेपत्ता व्यक्ति तथा विपद्बाट प्रभावितको संख्या तत्काल यकिन गर्न, उद्धार तथा राहत कार्यका लागि आवश्यक जनशक्ति परिचालन गर्न र जोखिममा रहेका मानिसलाई तत्काल तथा व्यवस्थित रूपमा सुरक्षित स्थानमा सार्न निर्देशन दिएका छन् ।

लीले चिनियाँ विदेश मन्त्रालयलाई सम्बन्धित देशसँग सञ्चार तथा समन्वय बढाउन, घटनाको अवस्थाबारे तत्काल जानकारी आदानप्रदान गर्न तथा उद्धार कार्यलाई संयुक्त र उचित ढंगले अघि बढाउन निर्देशन दिएका छन् । चिनियाँ पक्षले बेपत्ता तथा प्रभावितको खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ ।