रसुवा बाढीबारे प्रतिनिधिसभाको विशेष प्रस्ताव सर्वसम्मत पारित

रसुवा बाढीबारे प्रतिनिधिसभाको विशेष प्रस्ताव सर्वसम्मत पारित


काठमाडौं । प्रतिनिधिसभाले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख डीपी अर्यालले प्रस्तुत गरेको विशेष प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।

प्रस्तावमार्फत गत भदौ १० गते आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखाका नदी तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति संसद्ले दुःख व्यक्त गरेको छ।

बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती तथा नुवाकोटको त्रिशूली बजार र देवीघाट लगायतका क्षेत्रमा ठूलो विध्वंस मच्चाएको प्रस्तावमा उल्लेख छ।

बाढीमा परी स्वदेशी तथा विदेशी नागरिकसहित ठूलो संख्यामा मानिसको मृत्यु भएको तथा धेरै जना अझै बेपत्ता रहेको उल्लेख गर्दै प्रतिनिधिसभाले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै बेपत्ताको खोजी तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

सभामुख अर्यालले राष्ट्रिय शोकको यस घडीमा राष्ट्रिय ऐक्यबद्धता कायम गर्दै तीनवटै तहका सरकार, राजनीतिक दल, नागरिक समाज तथा राज्यका सबै संयन्त्रलाई परिचालन गर्न सरकारलाई निर्देशन दिएका छन्।

उनले बाढीबाट प्रभावित तथा विस्थापित नागरिकको तत्काल व्यवस्थापन र पुनःस्थापनाका लागि आवश्यक कदम चाल्न तथा घाइतेहरूको उचित उपचारको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराए।

विशेष प्रस्तावमा बाढीका कारण घरबारविहीन भएका नागरिकको तत्काल उचित व्यवस्थापन तथा पुनःस्थापना गर्नसमेत सरकारलाई आग्रह गरिएको छ।

प्रतिनिधिसभाले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार र पुनःस्थापनाका लागि राज्यका सबै संयन्त्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको जनाएको छ।