टनेलमा फसेकाहरूको उद्धारका लागि के भइरहेको छ ?

टनेलमा फसेकाहरूको उद्धारका लागि के भइरहेको छ ?


काठमाडौं । रसुवामा बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धारका लागि जलविद्युत आयोजनाका सुरुङमा खोजी तीव्र पारिएको छ। नेपाली सेनाका अनुसार बिहीबार बिहान ११ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट हवाई माध्यममार्फत ६ जनाको उद्धार गरिएको छ।

लाङटाङ हाइड्रोको सुरुङमा विदेशी प्राविधिकसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोली परिचालन गरिएको छ। टोली सुरुङभित्र करिब १५० मिटर प्रवेश गरी दुई स्थानमा साना होल बनाएर खोजी गरिरहेको सेनाले जनाएको छ।

चिलिमे हाइड्रोमा पनि विदेशी प्राविधिकसहितको संयुक्त टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ।

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङको आउटलेटमा भरिएको लेदो र माटो हटाउन ९३ जनाको संयुक्त उद्धार टोली परिचालन गरिएको छ। पाँचवटा एक्स्काभेटर प्रयोग गरी रातभर माटो र लेदो हटाउने क्रममा बिहीबार बिहान करिब २ बजे आउटलेटको होल ठूलो बनाउन क्राउन ब्लास्टिङ गरिएको थियो। अहिले त्यसलाई सफा गर्ने काम भइरहेको छ।

यस्तै, त्रिशूली–३ ‘बी’ आयोजनामा नेपाली सेनाका ८९, गैरसैनिक तीन र आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोलीले खोज तथा उद्धार गरिरहेको छ। आयोजनाको कार्यालय तथा आवास क्षेत्र पहिचान गरी त्यहाँसम्म पुग्न एक्स्काभेटर र बबक्याटको प्रयोगबाट बाटो निर्माण तथा माटो हटाउने काम भइरहेको सेनाले जनाएको छ।

९ हजारभन्दा बढी सैनिक उद्धारमा

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा नेपाली सेनाका ९ हजार ३ सयभन्दा बढी जनशक्ति प्रत्यक्ष रूपमा परिचालन भएका छन्।

सेनाका अनुसार टोलीले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक खुलाउने तथा आपत्कालीन उपचारको काम गरिरहेको छ।

स्याफ्रुबेँसीलगायत प्रभावित क्षेत्रमा नेपाली सेना र अन्य सुरक्षा निकायको संयुक्त टोलीले खोज तथा उद्धार गरिरहेको छ। त्रिशूलीपारि कोलोनीदेखि तुप्चे, सोले बजार तथा नुवाकोटका विभिन्न क्षेत्रमा समेत खोजी कार्य जारी छ।

सेनाले प्रभावित क्षेत्रका जंगल, डाँडा, खोला तथा बस्तीमा पैदल गस्ती गरी स्थानीयलाई सुरक्षा प्रत्याभूति दिलाउनुका साथै स्वास्थ्य सेवा पनि प्रदान गरिरहेको जनाएको छ।

नुवाकोटको पिपलटार र देवघाटस्थित होल्डिङ सेन्टरमा चिकित्सक अधिकृतहरूले सम्भावित संक्रमण फैलिन नदिन सचेतनामूलक कक्षा सञ्चालन गरिरहेका छन्।

प्रधानसेनापतिद्वारा स्थलगत निरीक्षण

प्रधानसेनापति महारथी अशोकराज सिग्देलले त्रिशूली क्षेत्र, सुरुङमा भइरहेको उद्धारलगायत विभिन्न स्थानको स्थलगत निरीक्षण गरेका छन्।

उनले नेपाली सेनासहित सम्बद्ध निकायले संयुक्त रूपमा सञ्चालन गरिरहेको खोज तथा उद्धार कार्यको निरीक्षण गर्दै सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य गरी उद्धार कार्यलाई निरन्तरता दिन निर्देशन दिएका छन्।