त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन् : ‘अवस्था जटिल छ’

त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन् : ‘अवस्था जटिल छ’


काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धार कार्य कठिन बनेको छ । शुक्रबार दुई जनाको जीवितै उद्धार गरिए पनि थप उद्धारका लागि अवस्था असहज बनेको हो ।

उद्धारमा सक्रिय बिनोद श्रेष्ठका अनुसार सुरुङभित्रको स्थिति एकदमै कठिन बनेको छ, बगेर आएका मुढाहरू, ठूला–ठूला बोल्डरहरू साथै आरसीसी स्ट्रक्चरहरू तलसम्म भासिएकाले भित्रसम्म खोज तथा उद्धार गर्न कठिन बनेको छ ।

‘भित्रसम्म जाने बाटाहरू बन्द जस्तै छन् । प्रारम्भिक चरणमा जुन किसिमको सहजता थियो, अहिले कठिन बनेको छ । हामीले फोटो र भिडियो लिएर पनि हेर्यौं । सबै सुरक्षा निकायका जिम्मेवार व्यक्तिहरूबाट भेरिफिकेसन गर्यौं । तर अवस्था कठिन बन्दै गएको छ,’ श्रेष्ठले अगाडि भने,‘रेस्क्यू जारी राख्छौं । सकेसम्म प्रयास गरिरहेका छौं ।’

उद्धारमा सक्रिय संजोग केसीका अनुसार सुरुङ भित्रको अवस्था जटिल र जलमग्न रहेको छ । ‘अन्डरग्राउन्ड पानी र लेदोले भरिएको छ । टनेलको छततर्फको भागमा साथीहरू हुनुभएको भए बाँच्ने अवसर हुनेथियो । नत्र भने अब धेरै आश छैन । जिउँदो होलान भन्नेमा हामी आशावादी छैनौं । मृत्यु नै भएको भए कहाँ दबिएको छ भन्ने यकिन छैन् । सोचेको भन्दा धेरै लेदो छ,’ केसीले भने,‘हामी धेरै आशावादी छैनौं ।’

शुक्रबार बिहानदेखि सुरुङभित्र फसेकाहरूको उद्धारका लागि नेपाली सेनाका ७५ जना, सशस्त्र प्रहरी बल, नेपालका १८ जना तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको थियो ।

उद्धार टोलीले सुरुङभित्रबाट दुई जनालाई जीवितै उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत श्री वीरेन्द्र अस्पताल, छाउनी ल्याएको थियो । उनीहरूको उपचार भइरहेको छ ।

खोज तथा उद्धारका क्रममा सुरुङबाट एक शवसमेत निकालिएको थियो । थप व्यक्तिको खोजी तथा उद्धारका लागि टोली परिचालन गरिए पनि हाल उद्धार गर्न कठिन भएपछि शुक्रबारलाई स्थगित गरिएको छ ।