अमेरिकी आर्थिक दबाबले इरान संकटमा, राष्ट्रपति पेजेस्कियनले गरे एकता अपिल

अमेरिकी आर्थिक दबाबले इरान संकटमा, राष्ट्रपति पेजेस्कियनले गरे एकता अपिल


काठमाडौं । अमेरिकी आर्थिक दबाब बढिरहेका बेला इरानी राष्ट्रपति मसुद पेजेस्कियनले देशमा राष्ट्रिय एकता कायम राख्न आह्वान गरेका छन् । उनले अमेरिका र उसका सहयोगीले इरानभित्र विभाजन र अशान्ति सिर्जना गर्न खोजिरहेको दाबी गर्दै राष्ट्रिय एकताले त्यस्ता प्रयासलाई निष्क्रिय पार्न सक्ने बताएका छन् ।

अमेरिकाले गत महिना इरानविरुद्ध आफ्नो इतिहासकै सबैभन्दा कडा प्रतिबन्ध व्यवस्था घोषणा गर्दै तेहरानको सरकार र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) लाई टिकाइरहेका सबै आर्थिक आधार काट्ने लक्ष्य लिएको थियो ।

राष्ट्रपति पेजेस्कियनले अमेरिकी आर्थिक दबाबका कारण आफ्नो सरकारले हतारमा नीति परिवर्तन नगर्ने बताएका छन् । त्यस्तो कदमले देशभित्र थप असन्तुष्टि र अशान्ति निम्त्याउन सक्ने उनको भनाइ छ ।

शुक्रबार अधिकारीहरूसँगको कुराकानीमा पेजेस्कियनले युद्ध, नाकाबन्दी र प्रतिबन्धमार्फत बाह्य शक्तिहरूले इरानभित्र विभाजन, दरार र अशान्ति सिर्जना गर्न खोजिरहेको बताएका थिए ।

उनले यसअघि सन् २०१९ र २०२० मा इरानमा भएका आन्दोलनको प्रसंगसमेत उल्लेख गरेका छन् । ती आन्दोलन पेट्रोलको मूल्यवृद्धिको विरोधबाट सुरु भएर सरकारविरोधी व्यापक प्रदर्शनमा परिणत भएका थिए ।

यसै साता टेलिभिजन सम्बोधनका क्रममा पेजेस्कियनले इरानी जनता अत्यधिक दबाबमा रहेको भन्दै थप दबाब दिए अवस्था नियन्त्रणबाहिर जान सक्ने चेतावनी दिएका थिए ।

यद्यपि सरकारले निजी सवारीसाधनका लागि उपलब्ध पेट्रोलको तीनमध्ये एक कोटाको मूल्य आगामी साताहरूमा दोब्बर बनाउने र मासिक पेट्रोल कोटा घटाउने योजना भने अघि बढाउने भएको छ ।

इरानमा इन्धन तस्करी, तेल तथा ग्यास पूर्वाधारमा भएको क्षति वा लामो समयको उपेक्षा तथा महँगा तर कम गुणस्तरका र बढी इन्धन खपत गर्ने सवारीसाधनका कारण ऊर्जा आपूर्तिमा गम्भीर समस्या देखिएको छ ।

तर पेट्रोलको मूल्य व्यापक रूपमा बढाउँदा ढुवानी लागत बढ्ने र मुद्रास्फीति थप चर्किने जोखिम रहेको पेजेस्कियनले बताएका छन् । यसको प्रत्यक्ष असर इरानका सबैजसो परिवारमा पर्ने उनको भनाइ छ ।

शनिबार बजार खुल्दा इरानी मुद्रा रियाल अमेरिकी डलरको तुलनामा अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । एक अमेरिकी डलरको मूल्य २२ लाख ५० हजार रियालभन्दा बढी पुगेको बताइएको छ ।

यसैबीच इरान र अमेरिकाबीच जारी सैन्य तनाव पनि कम हुने संकेत देखिएको छैन । शनिबार अमेरिकी सेनाले इरानको खार्ग टापुनजिकै एउटा तेल ट्यांकरमा आक्रमण गरेको थियो । त्यसअघि दक्षिणी इरान र होर्मुज जलडमरूमध्य क्षेत्रमा पनि अमेरिकी आक्रमण भएको थियो ।

अमेरिकाले इरानको कच्चा तेल निर्यात रोक्ने उद्देश्यले नौसैनिक नाकाबन्दीमार्फत दक्षिणी तटबाट इरानी तेल ट्यांकरहरू बाहिरिन रोकिरहेको छ ।

इरानी सरकारले भने अमेरिका पनि सहमत भएमा जुनमा वासिङ्टन र तेहरानबीच भएको समझदारीपत्रअन्तर्गतका प्रतिबद्धतामा फर्किन तयार रहेको जनाएको छ ।

‘राष्ट्रिय सुरक्षा’लाई लिएर चेतावनी

बढ्दो आर्थिक संकट र जनअसन्तुष्टिका बीच इरानी अधिकारीहरूले पछिल्ला केही सातादेखि देशभित्र सम्भावित अशान्तिबारे लगातार चेतावनी दिइरहेका छन् ।

अगस्टको अन्त्यमा आईआरजीसीको गुप्तचर निर्देशनालयले अमेरिका, इजरायल र उसका पश्चिमी सहयोगीहरूले इरानी नागरिकलाई आन्दोलनमा उत्रन बाध्य पार्न ‘भित्रबाट दबाब’ दिने रणनीति अपनाएको दाबी गरेको थियो ।

गत साता इरानका प्रधानन्यायाधीश गुलाम–होसेन मोहसेनी–एजेईले राष्ट्रिय सुरक्षामा क्षति पुर्‍याउने गतिविधिमा संलग्न व्यक्तिमाथि विगतका सबै समयभन्दा कडाइका साथ कारबाही गरिने चेतावनी दिएका थिए ।

संसद्का सभामुख तथा प्रमुख वार्ताकार मोहम्मद बाघेर घालिबाफले पनि सैन्य कारबाही, कूटनीतिक वार्ता र जनतालाई आर्थिक सेवा उपलब्ध गराउने क्षेत्रसँगै ‘सडक अर्थात् सामाजिक क्षेत्र’लाई चौथो युद्धभूमिका रूपमा व्याख्या गरेका छन् ।

प्रहरी प्रमुख अहमद–रेजा रादानले पनि जनजीविका, बेरोजगारी, अर्थतन्त्र र पेट्रोललाई स्थानीय वा देशव्यापी आन्दोलनका सम्भावित ‘बहाना’का रूपमा औँल्याएका छन् । उनले अशान्तिको सम्भावनालाई ध्यानमा राख्दै सुरक्षा निकायलाई निरन्तर निगरानी र तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

अगस्टको अन्त्यमा इरानका सर्वोच्च नेता मोज्तबा खामेनीसँग सम्बन्धित भनिएको पछिल्लो सन्देशमा पनि राष्ट्रिय एकतामा जोड दिइएको थियो । सामाजिक एकतालाई हानि पुर्‍याउने कुनै पनि गतिविधि निषेधित रहेको सन्देश त्यसबेला सार्वजनिक गरिएको थियो ।

यसैबीच इरानी नागरिक प्रशासनले राष्ट्रिय सुरक्षाविरुद्ध गतिविधि गरेको आरोप लागेका व्यक्ति तथा व्यवसायमाथि कारबाही पनि तीव्र बनाएको छ ।

बिहीबार इरानको सर्वोच्च अदालतले चर्चित व्यवसायी सादेघ सादिनियालाई कम्तीमा १२ वर्ष ६ महिनाको जेल सजाय र लाखौँ डलर बराबरको सम्पत्ति राज्यले जफत गर्ने फैसला सदर गरेको थियो । उनीमाथि जनवरीमा भएको देशव्यापी प्रदर्शनलाई समर्थन गरेको आरोप लगाइएको थियो ।

सादिनियाको स्वामित्वमा रहेका क्याफे, खाद्य कम्पनी तथा आतिथ्य क्षेत्रका व्यवसायहरूले प्रदर्शनकारीको समर्थनमा हडतालको घोषणा गर्दै इन्स्टाग्राममा सामग्री पोस्ट गरेका थिए । पछि उनले सार्वजनिक रूपमा आफ्नो कदमप्रति पछुतो व्यक्त गर्दै ‘स्वीकारोक्ति’ जारी गरेका थिए ।

इरानी अधिकारीहरूले जनवरीमा भएको देशव्यापी प्रदर्शनलाई अमेरिका, इजरायल र उनीहरूका सहयोगीले योजना बनाएको ‘कू’का रूपमा चित्रण गर्दै आएका छन् ।

फेब्रुअरी २८ मा अमेरिकासँग युद्ध सुरु भएयता इरानी न्यायिक निकायले मृत्युदण्ड दिएका दर्जनौँ व्यक्तिमध्ये केही जनवरीको उक्त प्रदर्शनमा संलग्न रहेको आरोप लगाइएको छ ।