कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन असोज ३ र ४ गते

कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन असोज ३ र ४ गते


काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि वडा अधिवेशनको कार्यतालिका फेरि परिवर्तन गरेको छ। भोटेकोसी बाढीका कारण यो परिमार्जन गरिएको हो।  मंगलबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले प्रेस विज्ञप्ति जारी गर्दै वडा अधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरेका छन्। विज्ञप्तिमा भोटेकोसी बाढीले पुर्‍याएको क्षतिका कारण पहिले तोकिएको तालिका परिवर्तन गर्नुपरेको उल्लेख छ।

नयाँ कार्यतालिकाअनुसार गाउँ तथा नगरका वडा अधिवेशन २०८३ असोज ३ गते शनिबार र ४ गते आइतबार स्थानीय अनुकूलता अनुसार सम्पन्न गर्ने निर्देशन दिइएको छ। देशभरका ६ हजार ७४३ वटै वडामा अधिवेशन, वडा कार्यसमितिको निर्वाचन र क्षेत्रीय प्रतिनिधि चयन यही अवधिभित्र गर्नुपर्नेछ।   यसअघि कांग्रेसले भदौ २४ गतेबाट वडा अधिवेशन सुरु गर्ने तय गरेको थियो। बाढीको असरले गर्दा उक्त मिति असोजमा सारिएको हो।

नयाँ तालिकाअनुसार गाउँ तथा नगरपालिका अधिवेशन असोज ७ गते हुनेछ भने प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १० गते तोकिएको छ। केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न हुनेछ। केन्द्रीय महाधिवेशनको मितिमा भने कुनै परिवर्तन गरिएको छैन।   बाढीबाट अति प्रभावित जिल्लाहरूमा निर्वाचन अधिकृत र स्थानीय तहसँग समन्वय गरी अधिवेशन गर्ने व्यवस्था मिलाइएको विज्ञप्तिमा उल्लेख छ।