नारायणगढ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि निर्माण थालिएको नयाँ ट्र्याकको काम अन्तिम चरणमा पुगेको छ। आइतबार भित्तातर्फको कटिङ र सडक सम्याउने काम सम्पन्न भएपछि परीक्षणका रूपमा केही सवारीसाधन नयाँ ट्र्याकबाट पार गराइएको थियो। परीक्षण सफल भए पनि हाल ट्र्याक सर्वसाधारणका लागि खुला गरिएको छैन।
नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इञ्जिनियर ईश्वर नेपालका अनुसार अहिले ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माणको काम भइरहेको छ। उनका अनुसार थप समस्या नआए असोज १ गतेदेखि नियमित रूपमा यातायात सञ्चालन गर्ने लक्ष्य राखिएको छ। करिब ३०० मिटर लामो नयाँ ट्र्याकमा सात मिटर चौडाइको सडक निर्माण गरिएको छ। नालीसहित ट्र्याकको चौडाइ करिब साढे सात मिटर रहेको नेपालले बताए।
निर्माणको सुरुवाती चरणमा ९ देखि १० दिनसम्म ११–१२ वटा उपकरण परिचालन गरिएको थियो। अहिले काम अन्तिम चरणमा पुगेकाले करिब ४०–५० जना मजदुर परिचालन गरिएको छ। आवश्यकताअनुसार ग्रेडर, रोलर र एक्साभेटरसहित पाँच–छ वटा हेभी उपकरण प्रयोग भइरहेका छन्। हाल नदीबाट निकालिएको गेग्रान प्रयोग गरी ट्र्याकमा ग्राभेलिङ भइरहेको छ। सडकको कुनामा ड्रेन निर्माण गरी पाइप राख्ने तथा त्यसलाई बेरेर माथि टिक ड्रेन बनाउने काम पनि भइरहेको छ। सब–बेसको अन्तिम तह निर्माण भएपछि ट्र्याक यातायात सञ्चालनका लागि तयार हुने निर्माण कम्पनीले जनाएको छ।
इञ्जिनियर नेपालले कृष्णभीरको उक्त क्षेत्र अझै जोखिमपूर्ण रहेको बताए। ‘थप पहिरो नआएमा तोकिएको समयमै यातायात सञ्चालन गर्न सकिन्छ,’ उनले भने। नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी इञ्जिनियर सचेन्द्र मिश्रले आइतबार नयाँ ट्र्याकको ग्रेडिङ सम्पन्न भएपछि फिनिसिङको काम भइरहेको बताए।
उनका अनुसार परीक्षणका लागि मात्र केही सवारीसाधन नयाँ ट्र्याकबाट पास गराइएको हो। अहिले नयाँ ट्र्याक पूर्णरूपमा बन्द रहेको उनले स्पष्ट पारे। ‘सर्वसाधारण नयाँ ट्र्याक खुला गरिएको भ्रममा नपर्नुहोला। परीक्षणका लागि मात्र केही हिजो सवारीसाधन पास गराइएको हो,’ मिश्रले भने। थप समस्या नआएमा असोज १ गतेसम्म निर्माणका सबै काम सम्पन्न गरी नयाँ ट्र्याकबाट नियमित रूपमा सवारीसाधन सञ्चालन गर्ने योजना रहेको उनले बताए।

प्रतिक्रिया