काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा पेस गरिएका राजेन्द्र राज आचार्यविरुद्ध आरोपपत्र दायर गरेको छ ।
सागरनाथ वन विकास परियोजनाको व्यवस्थापनमा रहेको जग्गामा उत्खनन् भएको वन पैदावार (नदीजन्य पदार्थ) को रोयल्टी असुल नगरी राजस्व चुहावट गरेको आरोपमा विशाल घिमिरेसमेतविरुद्ध दायर मुद्दामा आचार्यलाई सरकारी साक्षीका रूपमा पेस गरिएको थियो ।
आयोगका अनुसार रसुवा कन्स्ट्रक्सनका सञ्चालक आचार्यले अनुसन्धानका क्रममा आयोगका अनुसन्धान अधिकृतसमक्ष गरेको बयानविपरीत विशेष अदालत, काठमाडौंमा बकपत्र गरेका थिए । उनले गत भदौ १० गते विशेष अदालतमा बकपत्र गर्दा अनुसन्धानका क्रममा दिएको बयानसँग प्रतिकूल हुने व्यहोरा उल्लेख गरेको आयोगले जनाएको छ ।
आयोगले अनुसन्धानमा सहयोग गरी प्रमाण संकलन गर्न सहयोग गरेको आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम आचार्यलाई सजायमा पूर्ण छुट दिई प्रतिवादी बनाएको थिएन । तर, अदालतमा प्रतिकूल बकपत्र गरेपछि थप अनुसन्धान गर्दा उनी आफैं कसुरमा संलग्न रहेको पुष्टि भएको आयोगको दाबी छ ।
आयोगका अनुसार आचार्यले बागमती नगरपालिकासँग प्रचलित कानुनले तोकेको भन्दा कम मूल्यमा वन पैदावार (नदीजन्य पदार्थ) खरिद गर्ने सम्झौता गरी खरिद गरेका थिए । साथै, सागरनाथ वन विकास परियोजना क्षेत्रमा रोयल्टी दाखिला नगरी गैरकानुनी रूपमा वन पैदावार उत्खनन् गरी राजस्व चुहावट गर्ने कार्यमा मुख्य कसुरदारहरूसँग मिलेमतो गरेको आयोगको आरोप छ ।
आचार्यले गैरकानुनी लाभ लिने–दिने तथा मुख्य कसुरदारलाई कसुर गर्न सहयोग पुर्याएको भन्दै आयोगले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (क) बमोजिमको कसुरमा मतियार ठहर गरेको जनाएको छ ।
आयोगले रसुवा कन्स्ट्रक्सनले बागमती नगरपालिकासँग सम्झौता गरी खरिद गरेको ३ हजार घनमिटर वन पैदावारको मूल्यबराबर ९ लाख ५३ हजार ४ सय ९६ रुपैयाँ ९० पैसा बिगो कायम गरेको छ ।
उक्त बिगोका आधारमा भ्रष्टाचार निवारण ऐनबमोजिम कैद तथा चुहावट भएको राजस्व रकमको दोब्बर जरिवाना हुने सजाय मागदाबी गरिएको आयोगले जनाएको छ । मुख्य कसुरदारसरह सजाय हुनुपर्ने मागदाबीसहित आयोगले बिहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आचार्यविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम मुख्य कसुरदारसरह सजायको मागदाबी गरिएको छ।

प्रतिक्रिया