काठमाडौं । नेकपा एमालेभित्र पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको विषयलाई लिएर आन्तरिक विवाद झनै चुलिएको छ।
अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउनुपर्ने एजेन्डासहित कार्यदलले तयार पारेको प्रतिवेदनमाथि सहमति जुटाउन शीर्ष नेताहरू आज पनि ओली निवास गुन्डुमा छलफलमा जुटेका हुन् ।
उपाध्यक्ष रामबहादुर थापा बादल, विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायतका पदाधिकारीहरू सहभागी बैठकमा अध्यक्ष ओलीले पार्टी पुनर्गठनमा लचकता देखाए पनि नेतृत्व भने नछाड्ने स्पष्ट पार्नुभएको छ।
महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनमा ओलीले पद छाड्नुपर्ने प्रस्ताव समावेश छ। तर ओली पक्षधर नेताहरूले भने अध्यक्षले छाड्नैपर्ने भए अन्य पदाधिकारीहरूले पनि नैतिक जिम्मेवारी लिँदै पद त्याग्नुपर्ने अडान राखेका छन् ।
आसन्न केन्द्रीय कमिटी बैठकअघि विवाद निरुपण गर्ने प्रयास भइरहे पनि सहमति नजुट्दा बैठकको मितिसमेत सर्न सक्ने सम्भावना बढेको नेताहरूले बताएका छन् ।

प्रतिक्रिया