यमनमा हुथीले साउदीको एफ–१५ लडाकु विमान खसालेको पुष्टि

यमनमा हुथीले साउदीको एफ–१५ लडाकु विमान खसालेको पुष्टि


काठमाडौं । यमनमाथि साउदी अरेबियाको एफ–१५ लडाकु विमान इरानसमर्थित हुथी समूहले खसालेको पुष्टि भएको छ ।

BBC Verify ले प्रमाणित गरेको भिडिओ र स्याटेलाइट तस्वीरबाट मारिब सहरको पश्चिमी पहाडी क्षेत्रमा विमानको भग्नावशेष फेला परेको पुष्टि गरेको हो ।

हुथी समूहले बुधबार जारी गरेको विज्ञप्तिमा मारिब क्षेत्रमा ‘शत्रुतापूर्ण गतिविधि’ सञ्चालन गरिरहेको उक्त अमेरिकी निर्मित विमानलाई स्थानीय रूपमा निर्मित जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र प्रयोग गरेर खसालिएको बताएको छ ।

बीबीसी भेरिफाइसँग कुरा गरेका विज्ञहरूले यो घटनालाई हुथी समूहका लागि ‘प्रचारात्मक सफलता’ भएको बताएका छन् । उनीहरूका अनुसार यसले हुथीहरूको सैन्य क्षमता विकसित हुँदै गएको र साउदी अरबसँगको द्वन्द्व थप बढाउन उनीहरू तयार रहेको संकेत गर्छ ।

भिडिओमा देखिएको भौगोलिक अवस्थालाई स्याटेलाइट तस्वीरसँग तुलना गर्दै बीबीसी भेरिफाइले विमान दुर्घटना भएको स्थान यमनको मारिब सहरबाट करिब ४० किलोमिटर पश्चिममा रहेको एक दुर्गम पहाडी क्षेत्र भएको पत्ता लगाएको छ ।

भिडिओका केही दृश्यमा असल्ट राइफल बोकेका मानिसहरू दुर्घटनास्थलमा पुगेर विमानको भग्नावशेष निरीक्षण गरिरहेको देखिन्छ । उनीहरूले साउदी झन्डा र चार अंकको सिरियल नम्बर रहेको विमानको लगभग सुरक्षित अवस्थामा रहेको पुच्छरको भाग उठाएर उत्सव मनाइरहेका छन् ।

विमानमा रहेका चालक दलका सदस्यहरूको अवस्थाबारे भने जानकारी छैन ।

हुथी समूहले थर्मल क्यामेराबाट खिचिएको अर्को भिडिओ पनि सार्वजनिक गरेको छ । त्यसमा उडिरहेको लडाकु विमानलाई क्षेप्यास्त्रले प्रहार गरेको जस्तो देखिन्छ । तर दृश्यमा पर्याप्त विवरण नभएकाले उक्त भिडिओ पूर्ण रूपमा प्रमाणित गर्न नसकिने बीबीसीले जनाएको छ ।

बीबीसी भेरिफाइले घटनाबारे साउदी रक्षा मन्त्रालयसँग प्रतिक्रिया मागेको छ ।

यमनसम्बन्धी विश्लेषक तथा रोयल युनाइटेड सर्भिसेस इन्स्टिच्युटका बराआ शिबानले हुथीहरूले इरानबाट प्राप्त सल्लाह र प्राविधिक सहयोगको फाइदा उठाइरहेको घटना स्पष्ट देखाउने बताएका छन् । उनका अनुसार हुथीहरूले आफ्नो सैन्य हतियार र क्षमता निरन्तर विकास गर्दै साउदी अरबलाई थप क्षति पुर्‍याउन सक्ने क्षमता बढाइरहेका छन् ।

वासिङ्टनस्थित ‘न्यू अमेरिका’ थिंक ट्यांकका यमन विज्ञ एडम बारोनले पनि एफ–१५ खसाल्नु हुथीहरूका लागि ‘प्रचारात्मक सफलता’ भएको बताए । उनका अनुसार हालै हुथीहरूले हासिल गरेका सैन्य उपलब्धिलाई रोक्न साउदी हवाई सहयोग महत्वपूर्ण मानिन्छ ।

बीबीसी भेरिफाइले सूर्यको अवस्थिति र स्याटेलाइट तस्वीरको प्रयोग गरेर भिडिओमा देखिएको चट्टान, पहाड र अन्य भौगोलिक विशेषताका आधारमा दुर्घटनास्थल पहिचान गरेको हो । बुधबार सार्वजनिक स्याटेलाइट तस्वीरमा पनि सोही स्थानमा नयाँ गाढा छायाँ देखिएको छ, जुन दुर्घटनास्थलमा लागेको आगो वा डढेको चिन्हसँग मिल्दोजुल्दो देखिन्छ ।

सैन्य गुप्तचर कम्पनी जेन्सका हतियार विज्ञ निक ब्राउनले भिडिओमा देखिएका भग्नावशेष एफ–१५ ‘स्ट्राइक इगल’ विमानकै भएको स्वतन्त्र रूपमा पहिचान गरेका छन् । उनले विमानको पुच्छरको संरचना, रडार एन्टेना तथा क्षेप्यास्त्र चेतावनी प्रणालीका सेन्सरलगायत विशेषताका आधारमा यस्तो निष्कर्ष निकालेका हुन् ।

भग्नावशेषमा देखिएको चार अंकको टेल नम्बर पनि दक्षिण-पश्चिम साउदी अरबको किङ खालिद एयर बेसमा तैनाथ रोयल साउदी एयर फोर्सको ५५औँ स्क्वाड्रनले सञ्चालन गर्ने एफ–१५ स्ट्राइक इगलसँग मिल्दोजुल्दो देखिएको छ ।

दुर्घटनास्थलबाट करिब ३९२ किलोमिटर टाढा रहेको उक्त एयर बेसमा गत साता हुथीहरूले ‘क्षेप्यास्त्र र ड्रोनको ठूलो आक्रमण’ गरेको दाबी गरेका थिए । बीबीसी भेरिफाइले विश्लेषण गरेको स्याटेलाइट तस्वीरमा कम्तीमा तीनवटा विमान ह्याङ्गर वा सुरक्षा संरचनामा क्षति पुगेको देखिएको छ ।

पछिल्ला दिनमा हुथीहरूले आक्रमण गरेका प्रमुख साउदी लक्ष्यमा उक्त एयर बेससँगै जिजान सहरको एउटा तेल प्रशोधन केन्द्र पनि रहेको छ ।

साउदी अरबले मंगलबार इस्लामिक पवित्र सहर मक्कानजिकै हुथी समूहको एउटा ड्रोन खसालेको जनाएको थियो । हुथीहरूले भने मक्कालाई लक्षित गरी ड्रोन पठाएको दाबी अस्वीकार गरेका छन् ।

हुथी समूहले बिहीबार पछिल्लो २४ घण्टामा साउदी अरबले यमनमाथि ४० वटा हवाई आक्रमण गरेको दाबी गरेको छ ।