काठमाडौं । साझा यातायातले काठमाडौँ उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्दै ६ वटा रुटमा २८ वटा विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ।
संविधान दिवसको अवसर पारेर साझा यातायातले हाल सञ्चालनमा रहेको रात्रिकालीन सेवालाई चार गुणाले विस्तार गरेको हो। साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालका अनुसार अब सम्बन्धित प्रस्थानबिन्दुबाट बेलुका ८ बजेदेखि राति ११ बजेसम्म रात्रिकालीन बसहरू छुट्नेछन्।
नयाँ व्यवस्थाअनुसार बुढानीलकण्ठ–गोदावरी रुटमा ६ वटा, जगाती–रत्नपार्क–ठमेल रुटमा ६ वटा, त्रिभुवन विमानस्थल–नागढुंगा रुटमा ४ वटा, कीर्तिपुर–जमल रुटमा ४ वटा तथा चक्रपथ परिक्रमाका लागि दुवैतर्फ गरी ८ वटा विद्युतीय बस सञ्चालन हुनेछन्।
रातिको समयमा यात्रा गर्ने सर्वसाधारण, विद्यार्थी, स्वास्थ्यकर्मी तथा रात्रीकालीन सेवामा कार्यरत नागरिकलाई लक्षित गरी यो सेवा विस्तार गरिएको हो। विद्युतीय बस सञ्चालन भएकाले यसले वातावरणीय प्रदूषण न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया