रास्वपाले अघि बढायो ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज निर्माण प्रक्रिया

रास्वपाले अघि बढायो ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज निर्माण प्रक्रिया


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनप्रतिनिधिलाई मतदाताप्रति थप जवाफदेही र उत्तरदायी बनाउने उद्देश्यले अघि सारेको ‘राइट टु रिकल’ अवधारणासम्बन्धी दस्तावेज निर्माण प्रक्रिया अघि बढाएको छ ।

पार्टी महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा गठित ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज निर्माण समितिको पहिलो बैठक आइतबार केन्द्रीय कार्यालयमा बसेको हो ।

बैठकले ‘राइट टु रिकल’ अवधारणासम्बन्धी बहसलाई थप विस्तार गर्ने र त्यसका लागि आवश्यक दस्तावेज तयार गर्ने विषयमा छलफल गरेको रास्वपाले जनाएको छ । उक्त अवधारणाले निर्वाचित जनप्रतिनिधिलाई मतदाताप्रति थप उत्तरदायी बनाउनुका साथै लोकतान्त्रिक निर्वाचन प्रणालीप्रति जनताको विश्वास अभिवृद्धि गर्ने पार्टीको दाबी छ ।

बैठकले समितिलाई व्यवस्थित बनाउन मनिष खनाललाई सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ । साथै, विभिन्न विषयमा अध्ययन तथा समन्वय गर्न चारवटा उपसमिति गठन गरिएको छ ।

जसअनुसार संवैधानिक तथा सम्बन्धित कानुनी प्रावधान अध्ययन समितिमा सुलभ खरेल र गजला शमिम मिकरानी, अन्तर्राष्ट्रिय प्रचलित अभ्यास अध्ययन समितिमा अनुष्का श्रेष्ठ, सरोकारवालासँगको छलफल समन्वय समितिमा समीक्षा बास्कोटा र करिस्मा कठरिया तथा सञ्चार तथा मिडिया समन्वय समितिमा प्रमोद न्यौपानेलाई जिम्मेवारी दिइएको छ ।

समितिको बैठकमा संयोजक आचार्यसहित गणेश पराजुली, प्रमोद न्यौपाने, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनिष खनाल, सुशान्त वैदिक, गजला शमिम मिकरानी र करिस्मा कठरिया सहभागी थिए ।