काठमाडौं । त्रिपुरेश्वरमा बसमा भएको आगलागी घटनाको छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले समिति गठन गरेको छ । एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरिएको रानीपोखरीका एआईजी सुशील सिंह राठौरले जानकारी दिए । समितिलाई घटनाको विस्तृत छानबिन गरी प्रतिवेदन बुझाउन पाँच दिनको समय दिइएको छ । रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो ।
आगलागीमा बस चालक काभ्रेका २५ वर्षीय दावा लामा गम्भीर घाइते भएका छन् । प्रहरीले उनको उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार लामाको अवस्था चिन्ताजनक रहेको छ । प्रहरीका अनुसार बसमा आगलागी हुनुअघि चालक लामा र ट्राफिक प्रहरीबीच विवाद भएको थियो । त्यसपछि चालकले नै बसमा आगो लगाएको हुन सक्ने प्रहरीको प्रारम्भिक आशंका छ । यद्यपि आगलागीको वास्तविक कारण र घटनाको सम्पूर्ण विवरण छानबिनपछि मात्रै स्पष्ट हुने प्रहरीले जनाएको छ । पाँच दिनभित्र समितिले बुझाउने प्रतिवेदनपछि घटनाबारे थप तथ्य बाहिर आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया