काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कार्यसंयोजन समितिको बैठक बोलाएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भोलि दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको नेकपाका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए। उनका अनुसार बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका साथै पार्टीको महाधिवेशन तयारी र कार्यतालिकाका विषयमा छलफल हुनेछ। त्यस्तै, भोटेकोशी क्षेत्रमा आएको बाढीपछि उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारले गरिरहेको कामको अवस्थाबारे पनि बैठकमा समीक्षा हुने छ।
नेकपाले यसअघि सार्वजनिक गरेको महाधिवेशन कार्यतालिका प्रभावित भइसकेकाले बैठकमा त्यसको पुनरावलोकन गर्ने तयारी छ। प्रवक्ता ज्वालाका अनुसार निर्धारित समयअनुसार पार्टीका सांगठनिक गतिविधि अघि बढ्न नसकेकाले नयाँ कार्यतालिकाबारे बैठकले निर्णय गर्न सक्छ।
नेकपाले राष्ट्रिय महाधिवेशन आगामी मंसिर ११ देखि १५ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको थियो। महाधिवेशनलाई लक्षित गर्दै पार्टीले सदस्यता नवीकरण तथा विस्तारदेखि वडा, पालिका, जिल्ला र प्रदेश अधिवेशनसम्मको कार्यतालिका सार्वजनिक गरेको थियो। पूर्वनिर्धारित कार्यतालिकाअनुसार साउन मसान्तसम्म सदस्यता नवीकरण तथा विस्तार अभियान सञ्चालन गर्ने र भदौ १५ गतेभित्र वडा अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। त्यसपछि भदौ १६ गतेदेखि भदौ मसान्तसम्म पालिका अधिवेशन सम्पन्न गर्ने समयसीमा तोकिएको थियो।
तर निर्धारित समय सकिँदासमेत सदस्यता नवीकरण तथा विस्तारकै काम पूर्ण रूपमा टुंगिन सकेको छैन। जसका कारण त्यसपछिका सांगठनिक अधिवेशनहरू पनि प्रभावित भएका छन्।
पार्टीको पूर्वतालिकाअनुसार असोज मसान्तसम्म जिल्ला अधिवेशन र कात्तिक १५ गतेभित्र प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने थियो। तर प्रारम्भिक चरणकै काममा ढिलाइ भएपछि आगामी महाधिवेशनको तयारी र त्यसअघिका सांगठनिक गतिविधिको समय व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।
यही अवस्थालाई ध्यानमा राख्दै प्रचण्डले बोलाएको बैठकले महाधिवेशनको वर्तमान कार्यतालिका संशोधन गर्ने सम्भावना रहेको नेताहरूले बताएका छन्।
बैठकले महाधिवेशनको नयाँ मिति वा समग्र कार्यतालिकामा कस्तो परिवर्तन गर्ने भन्ने विषयमा भने छलफलपछि मात्रै निर्णय गर्ने बताइएको छ। पछिल्लो राजनीतिक परिस्थितिका साथै संगठन निर्माण र महाधिवेशन तयारीलाई प्रभावकारी बनाउने विषयमा समेत बैठक केन्द्रित हुने प्रवक्ता ज्वालाले जानकारी दिएका छन्।

प्रतिक्रिया