काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मंगलबार साँझ अमेरिका प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री शाह कतार एयरवेजको ‘क्यूटीआर–६४५’ कलसाइनको बोइङ ७८७–८ ड्रीमलाइनर जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहा हुँदै न्यूयोर्कतर्फ प्रस्थान गरेका हुन् ।
चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका गएका प्रधानमन्त्री शाहले असोज ८ गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । यो उनको पहिलो विदेश भ्रमण हो ।
भोटेकोशी बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएकाले प्रधानमन्त्री शाहले महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने बताइएको छ ।
महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको टोली यसअघि नै असोज ४ गते न्यूयोर्क पुगिसकेको छ ।
प्रधानमन्त्री शाह असोज १० गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया