काठमाडौं । आगामी ६ महिनामा असामान्य रूपमा शक्तिशाली एल निनोका कारण थप गर्मी बढ्दा ४ लाख ५० हजारभन्दा बढी मानिसको मृत्यु हुनसक्ने अनुसन्धान प्रतिवेदनले देखाएको छ ।
शिकागो विश्वविद्यालयको ‘क्लाइमेट इम्प्याक्ट ल्याब’ले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा एल निनोका कारण हुने गर्मीजन्य मृत्यु र सामान्य वर्षमा हुने गर्मीजन्य मृत्युबीच तुलना गरिएको छ । यो अनुमान फेब्रुअरी २०२७ सम्मको अवधिका लागि गरिएको हो ।
अनुसन्धानकर्ताहरूका अनुसार विश्वका जमिनमा औसत तापक्रम करिब १.२ डिग्री सेल्सियस (२.१ डिग्री फरेनहाइट) बढ्न सक्छ । अत्यधिक गर्मी हुने दिनको संख्या पनि औसत वर्षको तुलनामा ४४ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
विकासशील देश र अफ्रिकाको साहेल क्षेत्र यसबाट सबैभन्दा बढी प्रभावित हुने अनुमान गरिएको छ ।
प्रतिवेदनले साहेल क्षेत्रमा मात्रै करिब ६६ हजार ८०० थप मृत्यु हुनसक्ने अनुमान गरेको छ । एकल देशका रूपमा सबैभन्दा धेरै मृत्यु नाइजेरियामा हुने अनुमान छ, जहाँ ३१ हजार ४०० जनाको मृत्यु हुनसक्ने बताइएको छ । त्यसपछि इन्डोनेसियामा १९ हजार ३०० र सुडानमा १७ हजार ६०० जनाको मृत्यु हुने अनुमान छ ।
त्यस्तै, फिलिपिन्स, भियतनाम, थाइल्यान्ड र कम्बोडियामा गरी थप १९ हजार ४०० जनाको मृत्यु हुनसक्ने अनुमान गरिएको छ । भारतमा १५ हजार ८०० र ब्राजिलमा १३ हजार ३०० जनाको थप मृत्यु हुनसक्ने प्रतिवेदनमा उल्लेख छ ।
‘अझ धेरै खतरनाक’
क्लाइमेट इम्प्याक्ट ल्याबका सहसंस्थापक तथा अध्ययनका सहलेखक माइकल ग्रीनस्टोनले तापक्रम पहिले नै उच्च र आम्दानी तुलनात्मक रूपमा कम भएका क्षेत्रमा गर्मीको जोखिम सबैभन्दा बढी हुने बताए ।
‘यदि तपाईं पहिले नै गर्मी हुने ठाउँमा हुनुहुन्छ भने थप केही डिग्री तापक्रम अझ धेरै खतरनाक हुन्छ,’ उनले भने ।
उनका अनुसार धनी देशमा वातानुकूलित सुविधा, नियमित पानी आपूर्ति र स्वास्थ्य सेवामा तुलनात्मक रूपमा राम्रो पहुँच हुने भएकाले गर्मीको प्रभाव कम गर्न सहज हुन्छ ।
ग्रीनस्टोनले एल निनोको प्रभाव सकिएपछि पनि गर्मीको जोखिम कायमै रहन सक्ने र यसको असर आगामी गर्मीयामसम्म फैलिन सक्ने बताए ।
भारतको एनआरडीसीमा गर्मीसम्बन्धी विषयमा काम गर्ने अभियन्ता तिवारीले यस्तो अनुमानले तत्काल कदम चाल्न प्रेरित गर्नुपर्ने बताए । उनका अनुसार भारतमा कागजमा राम्रो योजना भए पनि त्यसका लागि आवश्यक स्रोत र प्रभावकारी कार्यान्वयन अझै चुनौतीका रूपमा रहेका छन् ।
उनले भने, ‘हाम्रो तयारीको वास्तविक मापदण्ड हामीले कति वटा गर्मीसम्बन्धी चेतावनी जारी गर्छौं भन्ने होइन, मानिसलाई कति प्रभावकारी रूपमा सुरक्षित राख्छौं र रोक्न सकिने मृत्यु कति घटाउँछौं भन्ने हो ।’
यस वर्षको एल निनो जुनमा विकसित हुन थालेको थियो र यो अहिलेसम्मकै शक्तिशाली एल निनोमध्ये एक हुने अनुमान गरिएको छ । चक्रका रूपमा देखापर्ने यो प्राकृतिक मौसमी घटनालाई जलवायु परिवर्तनले अझ तीव्र बनाइरहेको विज्ञहरूले बताएका छन् ।
सेप्टेम्बरको सुरुवातमा संयुक्त राष्ट्रसंघको मौसमसम्बन्धी निकायले एल निनो फेब्रुअरी २०२७ सम्म कायम रहने सम्भावना १०० प्रतिशत रहेको जनाएको थियो । तर अनुसन्धानकर्ताहरूले यसको जोखिम सन् २०२७ को मध्यसम्म पनि रहन सक्ने बताएका छन् ।

प्रतिक्रिया