काठमाडौं । अमेरिकी संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई सीएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारलाई ह्वाइट हाउस प्रवेशको अनुमति पुनः दिन आदेश दिएको छ ।
अमेरिकी जिल्ला न्यायाधीश टिमोथी केलीले बिहीबार यस्तो आदेश दिएका हुन् । ट्रम्प प्रशासनले तीन सञ्चारमाध्यमको ह्वाइट हाउस प्रवेश रोक्ने निर्णयविरुद्ध ती संस्थाले दायर गरेको मुद्दामा अदालतले प्रारम्भिक रूपमा प्रशासनको कदम संविधानविपरीत हुन सक्ने ठहर गरेको रोयटर्सले जनाएको छ ।
ट्रम्पले गत साता ती सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेशमा रोक लगाएका थिए । उनले सामाजिक सञ्जालमार्फत ती संस्थाले आफूविरुद्ध पटक–पटक झुटा समाचार प्रकाशित गरेको आरोप लगाउँदै उनीहरूलाई ह्वाइट हाउस प्रवेश दिन नहुने तर्क गरेका थिए ।
सीएनएन, एमएस नाउ र पोलिटिकोले पत्रकारको प्रवेश रोकिएको तथा प्रेस ब्याज फिर्ता लिइएको भन्दै अमेरिकी संविधानको पहिलो संशोधनमा रहेको अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको आधारमा अदालतमा चुनौती दिएका थिए ।
बुधबार भएको सुनुवाइका क्रममा न्यायाधीश केलीले प्रशासनले सञ्चारमाध्यमको प्रवेश रद्द गर्नुअघि आवश्यक कानुनी प्रक्रिया पालना गरेकोमा प्रश्न उठाएका थिए । उनले सुनुवाइको सुरुवातमै प्रशासनले उचित प्रक्रिया पालना नगरेको देखिएको टिप्पणी गरेका थिए ।
सञ्चारमाध्यमका तर्फबाट वकिल थियोडोर बुट्रसले पत्रकारको प्रवेश अधिकार तत्काल पुनःस्थापित गर्न माग गरेका थिए । उनले प्रशासनको निर्णयलाई ‘विचारका आधारमा विभेद’ भएको दाबी गर्दै निर्णय अचानक गरिएको बताएका थिए ।
यता अमेरिकी न्याय मन्त्रालयले ह्वाइट हाउस प्रवेश सबैका लागि निर्बाध अधिकार नभएको भन्दै प्रशासनको निर्णयको बचाउ गरेको छ । मन्त्रालयका वकिल माइकल भेल्चिकले ह्वाइट हाउस प्रवेश विशेषाधिकार भएको, अधिकार नभएको तर्क गरेका छन् । न्याय मन्त्रालयले ह्वाइट हाउस अमेरिकी राष्ट्रपतिको कार्यस्थल र निवास दुवै भएकाले त्यहाँ प्रवेश पाउने पत्रकारका लागि निश्चित मापदण्ड लागू गर्न तथा राष्ट्रिय सुरक्षासम्बन्धी संवेदनशील सूचना संरक्षण गर्न प्रशासनको स्वार्थ रहेको अदालतमा दाबी गरेको छ ।
मन्त्रालयले ती सञ्चारमाध्यमले व्यावसायिक आचरणको न्यूनतम मापदण्ड कायम नगरेको र संवेदनशील वा गोप्य सूचना प्रकाशन गरेको आरोपसमेत लगाएको छ । तर सञ्चारमाध्यमका वकिलले प्रशासनले अहिले अदालतमा प्रस्तुत गरेको राष्ट्रिय सुरक्षासम्बन्धी कारण ट्रम्पले सुरुमा दिएको प्रतिबन्धको कारणभन्दा फरक रहेको तर्क गरेका छन् । ट्रम्पको प्रारम्भिक स्पष्टीकरण तीन सञ्चारमाध्यमको समाचारप्रति असन्तुष्टिसँग सम्बन्धित रहेको उनको दाबी थियो ।
तीन सञ्चारमाध्यममाथिको प्रतिबन्धसम्बन्धी विवादले ट्रम्प प्रशासन र अमेरिकी सञ्चारमाध्यमबीचको प्रेस स्वतन्त्रता तथा ह्वाइट हाउसको पत्रकार पहुँचसम्बन्धी बहसलाई थप चर्काएको छ ।

प्रतिक्रिया