विद्या भण्डारी एमालेको वरिष्ठ नेता

विद्या भण्डारी एमालेको वरिष्ठ नेता


काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउने निर्णय गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा भण्डारीलाई वरिष्ठ नेता बनाउने प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव बैठकले अनुमोदन गरेको एक एमाले नेताले जानकारी दिए ।

यसअघि बिहीबार नै बसेको एमाले सचिवालय बैठकमा पनि भण्डारीलाई वरिष्ठ नेता बनाउने विषयमा छलफल भएको थियो । अध्यक्ष ओलीले सचिवालय बैठकमा भण्डारीलाई वरिष्ठ नेतामा प्रस्ताव गर्न लागेको जानकारी गराएका थिए ।

भण्डारी एमालेकी पूर्वउपाध्यक्ष हुन् । राष्ट्रपति पदबाट बाहिरिएपछि उनले पुनः पार्टी राजनीतिमा सक्रिय हुने बताउँदै एमालेको सदस्यता नवीकरण गरेकी थिइन् । उनले एमालेमै रहेर आफ्नो राजनीतिक यात्रा अघि बढाउने बताउँदै आएकी थिइन् ।

तर, उनको सदस्यता नवीकरणको विषय केही समय पार्टीभित्र विवादमा परेको थियो । २०८२ साउनको पहिलो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीको नवीकरण भइसकेको सदस्यता रोक्ने निर्णय गरेको थियो । त्यसपछि पार्टी सचिवालयमा अध्यक्ष ओली अल्पमतमा परेपछि गत जेठ ३ गते बसेको सचिवालय बैठकले उनको सदस्यता नवीकरण गर्ने निर्णय गरेको थियो ।

पछिल्लो समय भण्डारी र अध्यक्ष ओलीबीच संवादसमेत बढेको थियो । गत भदौ २६ गते ओली भण्डारीसँग भेट्न बालुवाटारस्थित उनको निवासमै पुगेका थिए । दुईबीच करिब साढे दुई घण्टा छलफल भएको थियो ।