पाल्पा । रिब्दीकोट गाउँपालिका–६ धुस्तुङ गोलफानमा पहिरोले दुईवटा घर पुरिँदा एक महिला बेपत्ता भएकी छन् ।
अविरल वर्षापछि माथिल्लो भागबाट खसेको पहिरोले ढुंगा–माटोले बनेका र जस्तापाताले छाएका दुईवटा कच्ची घर पुरेको हो । पहिरोमा परी केसुराम सारु मगरकी ५९ वर्षीया श्रीमती कृष्णकुमारी सारु बेपत्ता भएकी छन् ।
घरभित्रै पुरिएकी कृष्णकुमारीको खोजी तथा उद्धारका लागि पहल भइरहेको प्रहरीले जनाएको छ । उनका परिवारका अन्य सदस्य भने सकुशल रहेका छन् ।
घरभन्दा करिब २०० मिटर माथि रहेको मोटरबाटोबाट पहिरो र लेदो निरन्तर बगिरहेकाले तत्काल खोज तथा उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पहिरो खस्ने क्रम नरोकिएकाले जोखिमका बीच उद्धार कार्य अघि बढाउनुपर्ने अवस्था छ । बेपत्ता महिलाको खोजी तथा उद्धारका लागि आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया