काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको घटनाबारे अनुगमन गर्न पुगेको आफ्नो टोलीलाई जबरासँग भेट्न नदिएको भन्दै आपत्ति जनाएको छ ।
आयोगले विज्ञप्ति जारी गर्दै घटनाबारे अनुगमनका लागि आयोगका सदस्यको नेतृत्वमा उच्चस्तरीय टोली टेकुस्थित प्रहरी परिसर पुगेको जनाएको छ । तर, प्रहरीले टोलीलाई जबरासँग भेटेर जानकारी लिन रोक लगाएको आयोगको भनाइ छ ।
अनुगमनका लागि प्रहरीको उच्च नेतृत्वसँग कुराकानी गर्दा आयोगको टोलीलाई अनुगमन गर्न नदिइनुको कारणसमेत जानकारी नदिइएको आयोगले जनाएको छ ।
आयोगले राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा ४ (क) मा आवश्यकता अनुसार सार्वजनिक तथा निजी संस्था वा अन्य स्थानको निरीक्षण तथा अनुगमन गर्न सक्ने व्यवस्था रहेको स्मरण गराएको छ । मानव अधिकार संरक्षणका लागि सम्बन्धित निकायमा गर्नुपर्ने सुधारबारे आवश्यक सुझाव तथा निर्देशन दिन सक्ने अधिकारसमेत आयोगलाई रहेको विज्ञप्तिमा उल्लेख छ ।
आफ्नो संवैधानिक तथा कानुनी अधिकार प्रयोग गरी अनुगमनमा गएको आयोगको टोलीलाई रोकिएको भन्दै आयोगले प्रहरीको व्यवहारप्रति खेद व्यक्त गरेको छ ।
आयोगले घटनाबारे निष्पक्ष छानबिन गर्न र संवैधानिक तथा कानुनी दायित्व पूरा गर्ने कार्यमा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।
साथै, आयोगले आफूलाई प्राप्त संवैधानिक तथा कानुनी अधिकारको सम्मान गर्न नेपाल सरकारसँग आग्रह गरेको छ ।

प्रतिक्रिया