विपद् संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ मा

विपद् संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ मा


काठमाडौं । भोटेकोशी–त्रिशूली विपद्सहित हिमालमा जलवायु परिवर्तनको प्रभाव र जलवायु न्यायबारे अध्ययन गर्न गठित संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हुने भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले असोज १४ गते दिउँसो २ बजे समितिको सभापति निर्वाचन हुने जानकारी गराएका हुन् ।

गत असोज ५ गते ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्’ सम्बन्धी १५ सदस्यीय संसदीय विशेष समिति गठन गरिएको थियो । समिति गठन भए पनि अहिलेसम्म सभापति चयन भएको थिएन ।

समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का आठजना सांसद छन् । गणेश पराजुली, निशा डाँगी, अनुष्का श्रेष्ठ, सुजाता तामाङ, धनञ्जय रेग्मी, अचुतम लामिछाने, रविन्द्र पटेल र मिङमा ग्याबु शेर्पा समितिका सदस्य छन् ।

त्यस्तै, नेपाली कांग्रेसबाट मोहन आचार्य र उर्मिला थपलिया, नेकपा (एमाले)बाट पुष्पराज कँडेल र गंगा श्रेष्ठ सदस्य छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का रमेशकुमार मल्ल, श्रम संस्कृति पार्टीका ध्रुवराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामा पनि समितिमा छन् ।

समितिलाई नौबुँदे कार्यादेश दिइएको छ । यसले भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद्, त्यसको कारण तथा प्रभाव, जलवायु परिवर्तन र जलवायु न्यायसँग सम्बन्धित विषयको अध्ययन गर्नेछ ।

समितिको सभापतिका लागि रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीलाई अघि सार्ने सहमति भएको नेताहरूले बताएका छन् । सोही सहमतिअनुसार पराजुली सभापति बन्ने सम्भावना छ ।