बिल गेट्सको चेतावनी – अनियन्त्रित एआईले ‘एक अर्ब मानिसको ज्यान लिन सक्छ’

बिल गेट्सको चेतावनी – अनियन्त्रित एआईले ‘एक अर्ब मानिसको ज्यान लिन सक्छ’


काठमाडौं । माइक्रोसफ्टका सहसंस्थापक तथा परोपकारी बिल गेट्सले कृत्रिम बुद्धिमत्ता (एआई) को विकासलाई नियमन गर्न अमेरिकी संघीय सांसद र कानुन कार्यान्वयन गर्ने निकायलाई आग्रह गरेका छन् ।

एक अन्तर्वार्तामा उनले एआईलाई नियन्त्रणबिनै विकास हुन दिइएमा यसले ‘एक अर्ब मानिसको ज्यान जान सक्ने’ अवस्था निम्त्याउन सक्ने चेतावनी दिएका छन् । उनले एआई क्षेत्रमा स्वनियमन मात्रै पर्याप्त नहुने पनि बताएका छन् ।

एनबीसीको ‘मिट द प्रेस’की प्रस्तोता क्रिस्टिन वेल्करसँगको अन्तर्वार्तामा गेट्सले एआई विकासमा कस्ता सुरक्षा उपाय र निगरानी आवश्यक हुन्छ भन्ने विषयमा कानुन कार्यान्वयन गर्ने निकाय र राजनीतिज्ञहरू पनि छलफलमा सहभागी हुनुपर्ने बताए ।

“तपाईंलाई कानुन कार्यान्वयन गर्ने निकाय र राजनीतिज्ञहरू सुरक्षा उपाय र निगरानी कस्तो हुने भन्ने छलफलमा सहभागी हुन आवश्यक छ । र त्यो अनिवार्य हुनुपर्छ,” उनले भने ।

एआई विकासमा आवश्यक नियमनले उद्योगको खर्च केही बढाए पनि यसको विकासलाई ठूलो रूपमा सुस्त नबनाउने उनको भनाइ छ ।

अन्तर्वार्ताको अर्को अंशमा गेट्सले एआई गलत हातमा परेमा अत्यन्त शक्तिशाली बन्न सक्ने चेतावनी दिएका छन् । उनका अनुसार गलत नियत भएका मानिसले पछिल्लो प्रविधिका एआई उपकरण प्रयोग गरेमा “एक अर्ब मानिसको ज्यान जाने घटना निम्त्याउन सक्ने” अवस्था आउन सक्छ ।

“गलत नियत भएका मानिसले पछिल्लो एआई उपकरण प्रयोग गर्दा हुन सक्ने क्षमताजति शक्तिशाली हतियार यसअघि कहिल्यै बनेको छैन,” गेट्सले भने ।

एआई अत्यधिक शक्तिशाली भएमा त्यसलाई बन्द गर्न सकिने ‘किल स्विच’को अवधारणाबारे पनि गेट्सले धारणा राखेका छन् । उनका अनुसार एआईलाई बन्द गर्ने एउटा स्विच मात्र पर्याप्त हुँदैन ।

“किल स्विच मात्र पर्याप्त छैन,” उनले भने । यद्यपि एआईले आफैं कम्प्युटर नियन्त्रणमा लिएर बन्द गर्न नसकिने अवस्थामा पुर्‍याउने तहमा आफूहरू अझै नपुगेको उनको भनाइ छ । यस्तो विषयमा हुने बहसले कतिपय मानिस एआईको प्राविधिक पक्षबारे कति अनभिज्ञ छन् भन्ने देखाउने उनले बताए ।

गेट्सलाई सामान्यतः मानव भविष्यप्रति आशावादी प्रविधि क्षेत्रका व्यक्तिका रूपमा हेरिन्छ । तर अगस्टको अन्त्यमा प्रकाशित करिब ६ हजार शब्दको निबन्धमा उनले एआईका कारण मानवजातिले ठूलो स्तरमा सामना गर्नुपर्ने सम्भावित घातक जोखिमबारे चेतावनी दिएका थिए ।

गेट्ससँगै साम अल्टम्यान र एलन मस्कसहित प्रविधि क्षेत्रका अन्य प्रमुख व्यक्तिहरूले पनि एआई विकासको गति केही सुस्त बनाउनुपर्ने धारणा राख्दै आएका छन् । केही विज्ञहरूले एआईको दुरुपयोगबाट जैविक हतियार तथा आणविक युद्धलगायत माध्यमबाट ठूलो संख्यामा मानिसको ज्यान जान सक्ने जोखिम औंल्याउँदै आएका छन् ।

अमेरिकी प्रगतिशील सिनेटर बर्नी स्यान्डर्सले सेप्टेम्बर २३ मा एआईका लागि आवश्यक सुरक्षा व्यवस्था तयार नहुँदासम्म उन्नत एआईको विकासमा अस्थायी रोक लगाउने प्रस्तावसहितको विधेयक ल्याएका थिए ।

यसैबीच, एआईसँग सम्बन्धित केही विवादमा माइक्रोसफ्टको भूमिकामाथि पनि प्रश्न उठ्दै आएको छ । माइक्रोसफ्टका कर्मचारी र अभियन्ताहरूले इजरायली सेनासँगको सम्बन्ध तोड्न कम्पनीमाथि दबाब दिँदै अभियान चलाएका छन् । माइक्रोसफ्टको एआई प्रविधि गाजामा मानिसको हत्या गर्न प्रयोग भएको र इरानमा अमेरिकी सेनासँगै प्रयोग गरिएको दाबी ‘गार्डियन’मा प्रकाशित एक लेखमा गरिएको छ ।

‘नो एज्युर फर अपार्थाइड’ समूहका मोहम्मद हुसेन र ग्रानाटे किमले लेखेको उक्त लेखमा अमेरिकाभित्र पनि एआईका कारण उत्पन्न समस्या देखिन थालेको दाबी गरिएको छ । उनीहरूका अनुसार अमेरिकी होमल्यान्ड सेक्युरिटी विभागले माइक्रोसफ्टको एज्युरजस्ता एआई उपकरण प्रयोग गरेर आप्रवासीको निगरानी, पक्राउ र सामूहिक रूपमा देशनिकाला गर्ने काम गरिरहेको छ ।

गेट्सले अगस्टमा प्रकाशित गरेको निबन्ध र आइतबारको अन्तर्वार्ता जेफ्री एपस्टिनसँग जोडिएको विवादपछि उनका पहिलो प्रमुख सार्वजनिक गतिविधिमध्येका हुन् । एपस्टिनमाथि सन् २००८ मा नाबालिगलाई वेश्यावृत्तिमा लगेको अभियोगमा दोषी ठहर भएको थियो । पछि सन् २०१९ मा यौन तस्करीसम्बन्धी आरोपमा जेलमा रहेका बेला उनले आत्महत्या गरेका थिए ।

गेट्सको परोपकारी संस्थाले नियुक्त गरेको बाह्य समीक्षाले जुलाईमा गेट्ससहित संस्थाका कर्मचारी र नेतृत्व तहका व्यक्तिहरूले सन् २०११ देखि २०१४ सम्म एपस्टिनसँग करिब ३० वटा बैठक गरेको निष्कर्ष निकालेको थियो ।

गेट्समाथि एपस्टिनका स्वीकार गरिएका वा आरोप लगाइएका अपराधमा संलग्न भएको आरोप भने लागेको छैन । उनले एपस्टिनसँग बिताएको समयप्रति आफूलाई “हरेक मिनेट” पछुतो रहेको बताउँदै आएका छन् । उनी ८९ अर्ब डलरको गेट्स फाउन्डेसनका अध्यक्षसमेत हुन् ।

अन्तर्वार्ताको अन्त्यतिर वेल्करले गेट्सलाई व्यक्तिगत वा व्यावसायिक जीवनमा एआई प्रयोग नगर्ने कुनै अवस्था छ कि भनेर सोधेकी थिइन् ।

हाँस्दै गेट्सले भने, “म यसलाई व्यक्तिगत सम्बन्धका लागि प्रयोग गर्दिनँ । म यस्तो भन्दिनँ—‘ए, तिमी मलाई मन पराउँछौ? ए, म राम्रो मान्छे हुँ?’”

उनले आफू त्यसतर्फ कहिल्यै नगएको बताउँदै परिवार, साथीभाइ र सामाजिक सम्बन्धका हिसाबले आफू भाग्यमानी रहेको बताए । “म एआईसँग सामाजिक सम्बन्ध राख्दिनँ । यसलाई थाहा छ, म निकै गम्भीर व्यक्ति हुँ,” उनले भने ।