भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग


कास्की। रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कास्कीबाट रु दुई करोड ८३ लाख ५३ हजार ९७७ सहयोग जुटेको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार विभिन्न सङ्घसंस्था, व्यवसायी, सामाजिक संस्था, क्लब, सहकारी, होटल तथा व्यक्तिहरूले राहतस्वरूप उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरेका हुन् ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार हालसम्म जिल्लाका विभिन्न ८१ सङ्घसंस्थाबाट सहयोग गरिएको विवरण प्रशासनमा प्राप्त भएको छ । उहाँले सहयोगदाताहरूलाई आफूले प्रदान गरेको सहयोगको विवरण प्रशासनलाई जानकारी गराउन अनुरोध गरिएको बताउनुभयो । “विपद् प्रभावित नागरिकका लागि जिल्लामा स्वतःस्फूर्त रूपमा ठूलो रकम जम्मा भएको छ । कतिपयले प्रशासनमा जानकारी गराउनुभएको छ भने कतिपयले जानकारी नगराई आफ्नै हिसाबले समेत सहयोग गरिरहनुभएको छ ।” सहायक प्रजिअ बरालले भन्नुभयो ।