काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा अमरेशकुमार सिंहले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन )नेतृत्वको सरकारले आफ्नो, रास्वपा सभापति रवि लामिछाने तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछाडि सुराकी लगाएको आरोप लगाएका छन्।
प्राइम टेलिभिजनसँगको अन्तर्वार्तामा सिंहले सरकारको आलोचना गर्ने नेताहरूको पछाडि सुराकी लगाउने गरिएको दाबी गरे। ‘जो बोल्छ, त्यसको विरुद्धमा सुराकी आइहाल्छ,’ उनले भने। सिंहले अपराध नियन्त्रणका लागि सुराकी संयन्त्र प्रयोग गर्नुपर्नेमा राजनीतिक नेताहरूको घरअगाडि सुराकी राख्नु उचित नभएको बताए।
रवि लामिछाने र आफू जुनसुकै बेला पक्राउ पर्न सक्ने विषयमा प्रश्न गर्दा सिंहले आफूहरू त्यसका लागि तयार रहेको बताए। उनले संविधान र लोकतन्त्रको रक्षाका लागि आफूहरू प्रतिबद्ध रहेको भन्दै कुनै पनि ‘हुकुमी शासन’को साक्षी नबस्ने बताए।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा पक्राउ गरिएको प्रसंगमा पनि सिंहले आपत्ति जनाए। गम्भीर अपराध वा कानुनको गम्भीर उल्लंघन नभएको अवस्थामा राति नागरिकलाई पक्राउ गर्न नहुने उनको भनाइ थियो।
सिंहले संविधानभन्दा माथि कोही पनि नरहेको भन्दै प्रधानमन्त्रीसमेत संविधानको सीमाभित्र रहनुपर्ने बताए।

प्रतिक्रिया