खोटाङमा हिउँदका लागि थाङ्ग्रोमा थन्कियो पहाडको ‘सुन’

खोटाङमा हिउँदका लागि थाङ्ग्रोमा थन्कियो पहाडको ‘सुन’


खोटाङ। पहाडी जिल्ला खोटाङमा हिउँदको समयका लागि खाद्यान्न जोगाउने परम्परागत चलन अझै जीवितै छ। जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा किसानहरूले हिउँदका लागि थाङ्ग्रो बनाएर मकै भण्डारण गर्न थालेका छन्।

दश वटा स्थानीय तह रहेको खोटाङमा मकैलाई जिल्लाको पहिलो खाद्यबालीका रूपमा उत्पादन गर्ने गरिन्छ। यहाँका किसानहरूले वर्षभरि खान र गाईबस्तुका लागि दानाको जोहो गर्न खेतबारीमा फलेको मकैलाई यसरी परम्परागत शैलीको ‘थाङ्ग्रो’ बनाएर सुरक्षित राख्ने गर्छन्।

आधुनिक प्रविधिको विकास हुँदै गए पनि पहाडी गाउँघरमा भने अन्न सञ्चय गर्ने यो मौलिक र वैज्ञानिक विधि अझै लोकप्रिय छ। थाङ्ग्रोमा राखिएको मकै हावाखेलाएर सुक्खा रहने हुनाले लामो समयसम्म किरा लाग्नबाट जोगिने स्थानीय बुढापाका बताउँछन्।