सचिवालय गठनमै अल्झियो नेकपाको महाधिवेशन

सचिवालय गठनमै अल्झियो नेकपाको महाधिवेशन


काठमाडौं । पूर्वनिर्धारित एकता महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नयाँ कार्यतालिका तय गर्न सकेको छैन।
असोज ६ गते बसेको केन्द्रीय संयोजन समिति बैठकले महाधिवेशनबारे आवश्यक निर्णय गर्न असोज २0देखि २५ गतेभित्र सचिवालय बैठक बोलाउने निर्णय गरेको थियो। तर, अहिलेसम्म सचिवालय गठनकै स्पष्ट खाका बन्न नसक्दा महाधिवेशनको नयाँ कार्यतालिका अन्योलमा परेको हो।
निर्वाचन आयोगमा दर्ता भएको ६०१ सदस्यीय कार्यसमिति वा २ हजार ४९९ सदस्यीय केन्द्रीय समितिमध्ये कुन संरचनाको एक तिहाइबाट सचिवालय गठन गर्ने भन्ने विषयमा पार्टीभित्र सहमति जुट्न सकेको छैन। यही कारण सचिवालय गठन र त्यसपछि महाधिवेशनको प्रक्रिया अघि बढाउने विषय पेचिलो बनेको नेताहरू बताउँछन्।

आगामी वैशाखमा स्थानीय तहको निर्वाचन हुँदैछ। निर्वाचनअघि महाधिवेशन गर्दा पार्टीभित्र गुटबन्दी बढ्ने र त्यसको असर निर्वाचनमा पर्न सक्ने भन्दै संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचनअघि महाधिवेशन गर्ने पक्षमा नरहेको बताइएको छ।

यता वरिष्ठ नेता झलनाथ खनालले भने वर्तमान ठूलो आकारको केन्द्रीय समिति विघटन गरी महाधिवेशन आयोजक समिति गठन गरेर अघि बढ्न सुझाव दिएका छन्। उनको सुझावअनुसार आयोजक समिति बनाएर महाधिवेशनको तयारी अघि बढाउने विषयमा पनि पार्टीभित्र छलफल भइरहेको छ।

महाधिवेशनको मिति, प्रतिनिधि छनोट, सांगठनिक संरचना र सचिवालय गठनबारे सहमति जुट्न नसक्दा नेकपाको एकता महाधिवेशनको प्रक्रिया थप लम्बिने देखिएको छ।