काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयनका लागि भइरहेको निर्वाचनमा केन्द्रीय सदस्य गंगा सुनार पराजित भएकी छन् ।
काठमाडौं क्षेत्र नम्बर ५ बाट दलित क्लस्टरतर्फ महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएकी सुनारलाई बूढानीलकण्ठ नगरपालिका–६ की वडा सदस्य मेनुका भुसालले पराजित गरेकी हुन् ।
सुनार गत पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी थिइन् । केन्द्रीय सदस्यसमेत रहेकी उनी यसपटक भने महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित हुन सकिनन् ।
कांग्रेसले विशेष महाधिवेशनबाट विधान संशोधन गर्दै केन्द्रीय सदस्यसहितका नेताहरू पनि महाधिवेशनमा सहभागी हुन सम्बन्धित क्षेत्रबाट महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित हुनुपर्ने व्यवस्था गरेको छ ।
कांग्रेसको १५औं महाधिवेशन असोज १८ गतेदेखि काठमाडौंमा हुँदै छ । त्यसअघि महाधिवेशन प्रतिनिधि चयनका लागि विभिन्न निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन तथा निर्वाचन प्रक्रिया चलिरहेको छ ।

प्रतिक्रिया