राहतको १३ अर्ब कसले उडायो ? यस्तो छ रसुवा ‘हेलिकप्टर काण्ड’को नालीबेली !

राहतको १३ अर्ब कसले उडायो ? यस्तो छ रसुवा ‘हेलिकप्टर काण्ड’को नालीबेली !

यस्तो छ रसुवा 'हेलिकप्टर काण्ड'को नालीबेली !


काठमाडौं ।भोटेकोशी बाढीपछि उद्धार र राहतका लागि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टरले ठूलो संख्यामा उडान गरेका छन्। बाढीपछिको पहिलो (६ घण्टामै ८२) सर्टिजमार्फत ३ हजार २४३ जनाको उद्धार गरिएको थियो।
सेनाका अनुसार असोज ९ गतेसम्म रसुवा र नुवाकोटमा गरी सेना तथा निजी क्षेत्रका हेलिकोप्टरले ३ हजार ५०७ पटक उडान गरेका छन्। ती उडानमार्फत दुवै जिल्लामा गरी ३ लाख ५५ हजार किलोभन्दा बढी राहत सामग्री पुर्‍याइएको छ।
तर, हेलिकोप्टर उद्धारमा लागेको खर्चबारे भने फरक–फरक तथ्य सार्वजनिक भएका छन्। असोज ५ गते कानुन समितिको बैठकमा गृहसचिव केदार शर्माले हेलिकोप्टर उडानमै १३ देखि १४ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बताएका थिए।

पछि गृहसचिव शर्माले उक्त भनाइ सच्याउँदै १४ अर्ब रुपैयाँ हेलिकोप्टर कम्पनीलाई मात्र तिर्नुपर्ने नभएको स्पष्ट पारे। विपद्पछि मृतक तथा प्रभावित परिवारलाई राहत, क्षतिपूर्ति, उद्धार तथा राहत सामग्रीलगायतमा सरकारको समग्र दायित्व बढेको सन्दर्भमा उक्त भनाइ आएको उनको स्पष्टीकरण थियो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख धर्मराज उप्रेतीका अनुसार भने हेलिकोप्टरमार्फत गरिएको उद्धार तथा राहतको कुल खर्च अधिकतम १५ करोड रुपैयाँ हाराहारी हुने प्रारम्भिक अनुमान छ।

यस्तै, वायु सेवा सञ्चालक संघका अनुसार विपद् उद्धारमा प्रयोग हुने साना हेलिकोप्टरका लागि सरकारसँग प्रतिघण्टा भ्याटबाहेक १ हजार ८ सय अमेरिकी डलरमा सञ्चालन गर्ने सहमति भएको छ। आइतबारको विनिमय दरअनुसार यो करिब २ लाख ७५ हजार ६ रुपैयाँ प्रतिघण्टा हुन्छ।
यसरी हेलिकोप्टरको संख्या र उडानबारे सरकारी तथ्यांक रहे पनि वास्तविक खर्च कति भयो भन्ने विषयमा अझै स्पष्टता आउन बाँकी देखिएको छ। सरकारले हेलिकोप्टरको उडान संख्या, उडान समय, भुक्तानी दर र वास्तविक खर्चको विस्तृत विवरण सार्वजनिक गरेपछि मात्रै खर्चको यकिन तस्वीर स्पष्ट हुनेछ।