काठमाडौं । चीनका सबैभन्दा महत्वपूर्ण र रहस्यमय सुरक्षा अधिकारीमध्ये एकको पहिचान ह्वाइट हाउसले सार्वजनिक गरेको पाहुना सूचीका कारण खुलेको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पछिल्ला केही वर्षमा विदेश भ्रमणका क्रममा पटक–पटक देखिँदै आएका चस्मा लगाएका र छोटो कपाल भएका ती अधिकारीलाई चीन मामिलाका जानकारहरूले लामो समयदेखि केन्द्रीय सुरक्षा ब्युरोका निर्देशक झोउ होङ्सु भएको अनुमान गर्दै आएका थिए । उक्त ब्युरो अमेरिकाको ‘सिक्रेट सर्भिस’ जस्तै चीनका शीर्ष नेताको सुरक्षासँग सम्बन्धित निकाय हो ।
बेइजिङले झोउको पदबारे सार्वजनिक रूपमा पुष्टि गरेको थिएन । उनको आधिकारिक जीवनीमा पनि उनको जिम्मेवारीबारे स्पष्ट जानकारी थिएन ।
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सी जिनपिङका लागि आयोजना गरेको हालैको राजकीय भोजमा सहभागी चिनियाँ पाहुनाको नाम र आधिकारिक पद ह्वाइट हाउसले सार्वजनिक गरेपछि झोउको पद पहिलोपटक पुष्टि भएको हो ।
यति उच्चस्तरीय कूटनीतिक कार्यक्रममा उनको उपस्थितिले सीका विश्वासपात्र बनेका चिनियाँ कम्युनिस्ट पार्टीका नयाँ पुस्ताका अधिकारी तथा सुरक्षा निकायका व्यक्तिहरूतर्फ पनि ध्यान खिचेको छ । पार्टीको महत्वपूर्ण नेतृत्व चयन गर्ने राष्ट्रिय महाधिवेशन अब एक वर्षपछि हुँदैछ ।
चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले प्रसारण गरेको दृश्यमा झोउ राजकीय भोजका पाहुनामध्ये देखिएका थिए । उनले माओ शैलीको बन्द पोसाक लगाएका थिए र अमेरिकी विदेशमन्त्री मार्को रुबियोको पछाडि उभिएका थिए ।
यसै महिनाको सुरुतिर सीले भारतको नयाँदिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्दा पनि झोउ दुर्लभ रूपमा उच्चस्तरीय कूटनीतिक कार्यक्रममा देखिएका थिए । सरकारी दृश्यमा उनी चीनका दुई उपविदेशमन्त्रीबीच बसेको देखिए पनि सरकारी सञ्चारमाध्यमले उनको परिचय खुलाएका थिएनन् ।
विश्लेषकहरूले झोउ सार्वजनिक रूपमा बढी देखिन थालेको घटनालाई महत्वपूर्ण मानेका छन् ।
पार्टीको आधिकारिक प्रशिक्षण संस्थाको प्रकाशन ‘स्टडी टाइम्स’का पूर्वउपसम्पादक देङ युवेनले सीएनएनसँग भने, ‘सार्वजनिक रूपमा अभिलेख भएका घटनालाई हेर्दा झोउ उच्चस्तरीय कूटनीतिक वार्तामा सहभागी हुने पहिलो शीर्ष सुरक्षा अधिकारी हुन सक्छन् ।’
ह्वाइट हाउसको राजकीय भोजमा झोउको उपस्थितिले ‘सीले उनलाई जानाजान सार्वजनिक नजरमा ल्याउन चाहेको’ संकेत गर्न सक्ने देङले बताए ।
‘यदि सीले जानाजान उनलाई यस्तो सार्वजनिक exposure दिइरहेका हुन् भने, उनलाई थप जिम्मेवारी सुम्पिन लागिएको र आगामी नेतृत्व पुनर्गठनमा अझ महत्वपूर्ण भूमिका दिन सकिने संकेत हुन सक्छ,’ देङले भने ।
चीनभित्र पनि रहस्यमय व्यक्ति
केन्द्रीय सुरक्षा ब्युरो चीनको विशाल सुरक्षा संयन्त्रभित्रको सबैभन्दा गोप्य निकायमध्ये एक हो ।
अमेरिकाको सिक्रेट सर्भिसजस्तै यसले चीनका शीर्ष नेताहरू र बेइजिङको केन्द्रमा रहेको झोङनानहाई परिसरको सुरक्षा गर्ने जिम्मेवारी पाएको छ । यही परिसरमा चीनको शीर्ष नेतृत्व बस्छ ।
चिनियाँ सरकारी सञ्चारमाध्यमले यो ब्युरोलाई ‘प्रहरी र सैन्य दुवै क्षेत्रमा फैलिएको असाधारण संगठन’ भन्दै देशको शीर्ष नेतृत्वको गहिरो विश्वास आवश्यक पर्ने निकायका रूपमा वर्णन गरेको छ ।
पछिल्ला वर्षमा बेइजिङले महत्वपूर्ण अधिकारीसम्बन्धी सूचना सार्वजनिक गर्न थप कडाइ गरेसँगै झोउको पहिचानसम्बन्धी अस्पष्टता पनि सामान्य बन्दै गएको छ । विशेषगरी सीसँग प्रत्यक्ष रूपमा काम गर्ने अधिकारीबारे सूचना सीमित राख्ने गरिएको छ ।
चीनको सरकारी समाचार संस्था सिन्ह्वाले सन् २०२२ मा झोउ चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिका रूपमा चयन भएको जनाएको थियो । उक्त महाधिवेशनले सीलाई अभूतपूर्व तेस्रो कार्यकाल प्रदान गर्दै उनको राजनीतिक शक्ति थप मजबुत बनाएको थियो ।
झोउ अझै पनि चीनभित्र निकै कम सार्वजनिक हुने व्यक्ति हुन् । सीसँग महत्वपूर्ण कूटनीतिक कार्यक्रममा सहभागी हुँदा सरकारी सञ्चारमाध्यमले प्रसारण गरेका केही क्षणिक दृश्यबाट मात्रै उनको उपस्थितिबारे थाहा हुने गरेको छ ।
तर उनको शिक्षा, व्यक्तिगत पृष्ठभूमि वा उनले चिनियाँ सेना अथवा सुरक्षा सेवामा कसरी करिअर सुरु गरे भन्नेबारे लगभग कुनै जानकारी छैन ।
चिनियाँ सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेका पुराना तस्बिरमा भने विभिन्न कार्यक्रममा झोउको नाम लेखिएको परिचयपत्र टेबलमा राखिएको देखिन्छ ।
सन् २०१९ अक्टोबरमा सीले काठमाडौंमा तत्कालीन नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्दा पनि झोउ चिनियाँ राष्ट्रपतिको पछाडि बसेको देखिएका थिए । सन् २०२३ मा सान फ्रान्सिस्कोमा भएको एपीईसी सम्मेलनमा पनि उनले सीलाई साथ दिएका थिए ।
झोउका पूर्ववर्ती वाङ शाओजुनको सन् २०२३ अप्रिलमा मृत्यु भएको थियो । चिनियाँ सरकारी सञ्चारमाध्यमले उनको मृत्युको तीन महिनापछि मात्रै पुष्टि गर्दै कारणलाई निर्दिष्ट नगरिएको बिरामी बताएका थिए ।
उनको मृत्युपछि मात्रै सरकारी सञ्चारमाध्यमले त्यसबेला उनी केन्द्रीय सुरक्षा ब्युरोका निर्देशक रहेको पुष्टि गरेको थियो ।
तर त्यसपछि उनको उत्तराधिकारीबारे औपचारिक घोषणा गरिएको थिएन ।
वाङजस्तै झोउ पनि चिनियाँ जनमुक्ति सेना (पीएलए) बाटै माथि आएका हुन सक्ने अनुमान गरिएको छ । सन् २०१८ मा सीले पीएलएको उत्तरी थिएटर कमान्डको निरीक्षण गर्दा वाङसँगै झोउ पनि देखिएका थिए । त्यतिबेला दुवैले सैन्य पोसाक लगाएका थिए ।
केन्द्रीय सुरक्षा ब्युरो सन् १९५० मा स्थापना भएको थियो । यसको जरा भने चिनियाँ गृहयुद्धको समयसम्म पुग्छ, जतिबेला माओ त्सेतुङ नेतृत्वको कम्युनिस्ट समूह राष्ट्रवादी शक्तिविरुद्ध युद्धरत थियो ।
यसका पहिलो प्रमुख वाङ तुङसिङ माओका व्यक्तिगत सुरक्षाकर्मीमध्ये एक थिए । पछि उनी पार्टीका उपाध्यक्ष र पोलिटब्युरो स्थायी समितिका सदस्यसमेत बने ।
सन् २०१४ मा चीनसँग सम्बद्ध सञ्चारमाध्यम ‘चाइना नेट’ले प्रकाशित गरेको दुर्लभ आधिकारिक विवरणअनुसार यो ब्युरो चीनको सार्वजनिक सुरक्षा मन्त्रालयअन्तर्गतको संरचनामा रहेको छ र त्यहाँ यसलाई ‘ब्युरो ९’ भनिन्छ । तर मन्त्रालयबाट स्वतन्त्र रूपमा काम गर्ने र सीको नेतृत्वमा रहेको मन्त्रिपरिषद्लाई जवाफ दिने बताइएको छ ।
महत्वपूर्ण नेतृत्व पुनर्गठनको तयारी
चीनको उच्चस्तरीय राजनीतिको ‘ब्ल्याक बक्स’ लामो समयदेखि पत्रकार, अध्येता र विदेशी सरकारका लागि चासोको विषय रहँदै आएको छ ।
कम्युनिस्ट पार्टीका महत्वपूर्ण बैठकहरू नजिकिँदै जाँदा सरकारी घोषणा र सञ्चारमाध्यमका समाचारबाट चीनको राजनीतिक नेतृत्वमा हुन सक्ने परिवर्तनबारे अनुमान गर्ने क्रम पनि बढ्ने गरेको छ ।
आगामी अक्टोबरमा पार्टीको २१औँ राष्ट्रिय महाधिवेशन हुँदैछ । प्रत्येक पाँच वर्षमा हुने यो महाधिवेशनमा सामान्यतया महत्वपूर्ण नेतृत्व पुनर्गठन हुने गर्छ ।
त्यतिबेलासम्म चीनका अधिकांश वर्तमान वरिष्ठ अधिकारी ७० वर्षभन्दा माथिका हुनेछन् । चीनका शीर्ष कूटनीतिज्ञ वाङ यी पनि आगामी वर्ष ७३ वर्ष पुग्नेछन् ।
त्यसैले युवा पुस्ताका अधिकारीहरूलाई महत्वपूर्ण शक्तिशाली पदमा बढुवा गरिन्छ कि गरिँदैन भन्नेमा पर्यवेक्षकहरूको विशेष ध्यान रहनेछ । विशेषगरी सीको आन्तरिक घेरासरह मानिने पार्टीको पोलिटब्युरो र स्थायी समितिमा हुने सम्भावित परिवर्तनलाई नजिकबाट हेरिनेछ ।
ह्वाइट हाउसमा आयोजित राजकीय भोजमा सहभागी अन्य युवा पुस्ताका महत्वपूर्ण चिनियाँ अधिकारीमा ५३ वर्षीया चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङ, ५७ वर्षीय विदेश मन्त्रालयका प्रोटोकल प्रमुख होङ लेई र सीका व्यक्तिगत सचिव लु लुहुआ पनि थिए । लु पछिल्ला विदेश भ्रमणमा सीसँग लगभग नियमित रूपमा देखिँदै आएका छन् ।

प्रतिक्रिया