काठमाडौं । मनाङको हिम्लुङ हिमालमा गएको हिमपहिरोमा थप चार जनाको शव फेला परेको छ । यससँगै हिमपहिरोमा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
हिमपहिरोमा हराइरहेका आरोहीको खोज तथा उद्धारमा खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण गाइड संघको टोलीले थप चार शव फेला पारेको हो । उद्धार टोलीका प्रमुख पासाङ काजी शेर्पाले चार जनाको शव भेटिएको जानकारी दिए ।
हिमपहिरोमा पुरिएका शव निकाल्ने काम भइरहेको छ । फेला परेका शवको पहिचान भने हुन बाँकी छ ।
यसअघि बुधबार आश गुरुङ, सुरज राई र पदम मगरको शव फेला परेको थियो । त्यसअघि आइतबार र सोमबार वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको शव भेटिएको थियो ।
हिमपहिरोमा अझै पाँच जना आरोही तथा सहयोगी सम्पर्कविहीन छन् । उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको शेर्पाले बताए ।
असोज ११ गते मनाङको नार्फाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको थियो । हिमपहिरोमा १६ जना हराएका थिए । त्यसपछि आरोहणमा गएका ११ जना दोस्रो दिन सम्पर्कमा आएका थिए ।

प्रतिक्रिया