विश्वकप लिग-२ : सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा, परेनन् कुशल भुर्तेल

विश्वकप लिग-२ : सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा, परेनन् कुशल भुर्तेल


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम शृंखलाका लागि राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ ।

क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा सन्दीपसँगै आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुल्सन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, साहब आलम र शेर मल्ल छन् । कुशल भुर्तेल भने टोलीमा परेका छैनन् ।

ओमानमा अक्टोबर ७ देखि सुरु हुने लिग–२ को यो अन्तिम शृंखला हो । नेपालले अक्टोबर ११ मा क्यानडासँग खेल्दै शृंखलाको सुरुवात गर्नेछ । त्यसपछि अक्टोबर १३ मा घरेलु टोली ओमानसँग खेल्नेछ ।

त्यस्तै अक्टोबर १७ मा पुनः क्यानडासँग र अक्टोबर १९ मा ओमानसँग खेल्दै नेपालले शृंखला टुंग्याउनेछ ।

लिग–२ को अंकतालिकामा नेपाल अहिले सातौँ स्थानमा छ । ३२ खेल खेलेको नेपालले ११ खेलमा जित र १९ खेलमा हार बेहोर्दै २४ अंक जोडेको छ । शीर्ष चारमा स्थान बनाउन नेपालले ओमानमा हुने अन्तिम शृंखलाका खेलमा राम्रो प्रदर्शन गर्नुपर्ने दबाबमा छ ।

नेपाल शीर्ष चारमा पर्न नसके विश्वकप छनोटमा पुग्न प्लेअफ खेल्नुपर्नेछ ।

अंकतालिकामा ३६ खेलबाट ४५ अंक जोडेको स्कटल्यान्ड पहिलो स्थानमा छ । अमेरिकाले ३२ खेलबाट ४३ अंक जोड्दै दोस्रो स्थानमा छ । नेदरल्यान्ड्स ३८ अंकसहित तेस्रो, ओमान ३१ अंकसहित चौथो, नामिबिया २८ अंकसहित पाँचौँ, क्यानडा २५ अंकसहित छैठौँ, नेपाल २४ अंकसहित सातौँ र यूएई १८ अंकसहित आठौँ स्थानमा छन् ।