टेकु अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात गरेको आरोपमा तीन जना पक्राउ

टेकु अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात गरेको आरोपमा तीन जना पक्राउ


काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि गालीगलौज, धम्की तथा हातपात गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–४ का ४१ वर्षीय रामकुमार बुढाथोकी, २३ वर्षीय आयुष बुढाथोकी र २७ वर्षीय सचिन बुढाथोकी रहेका छन् ।

प्रहरीका अनुसार असोज १४ गते राति करिब १ बजे उनीहरू उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा पुगेका थिए । त्यसक्रममा ड्युटीमा रहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीसँग विवाद गर्दै उनीहरूले गालीगलौज र धाकधम्की दिएको तथा हातपातसमेत गरेको आरोप छ ।

घटनाको सीसीटीभी फुटेजसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । घटनाबारे जानकारी पाएपछि प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले तीनै जनालाई अस्पताल परिसरबाटै नियन्त्रणमा लिएको थियो ।

उनीहरूमाथि ‘अभद्र व्यवहार गर्न नहुने’ कसुरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।