काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले सङ्घीय संसद् कुनै पनि हालतमा कमजोर नभएको स्पष्ट पार्नुभएको छ । सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमाउहाँले सङ्घीय संसद् सशक्त र प्रभावकारी ढङ्गले सञ्चालन भएको बताउनुभयो ।
सभामुख अर्यालले सङ्घीय संसद्मा सदस्यहरूले उठाउनुभएका विषयमा आफूले टिप्पणी गर्न अलि सान्दर्भिक नहुने पनि स्पष्ट पार्नुभयो । “सङ्घीय संसद्मा सदस्यहरूले उठाउनुभएको विषयलाई मैले टिप्पणी गर्न सान्दर्भिक नहोला”, उहाँले भन्नुभयो, “तर संसद् कमजोर भएको महसुस मैले गरेको छैन ।”
सभामुख अर्यालले संसद्को आफ्नो मर्यादा र गर्नुपर्ने काम आफ्नो कार्यशैलीअनुसार नै सञ्चालन हुने बताउनुभयो । “तीन करोड नेपालीका लागि काम गर्ने भनेर आएका तपाईँहामी निरन्तर खटिरहेका छौँ”, उहाँले भन्नुभयो ।
सभामुख अर्यालले व्यवस्थापिकाका सांसद, नागरिक, पत्रकारलगायतले कार्यपालिकालाई झकझक्याउने जिम्मेवारी रहेको बताउनुभयो । उहाँले आगामी संसद्को अधिवेशन राष्ट्रियसभा र प्रतिनिधिसभा नयाँ भवनबाट सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो । “राष्ट्रियसभा होस् या प्रतिनिधिसभा नयाँ भवनबाट सञ्चालन हुन्छ भन्नेमा म विश्वस्त छु”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया