काठमाडौं । त्रिपुरेश्वरमा भएको बस आगजनी घटनाको छानबिन प्रतिवेदन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेको संयोजकत्वमा गठित सात सदस्यीय छानबिन समितिले तयार पारेको प्रतिवेदन शुक्रबार साँझ प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेललाई बुझाएको हो ।
असोज ५ गते ट्राफिक प्रहरीसँग सामान्य विवाद भएपछि बा ५ ख ४२७४ नम्बरको बसमा अर्जुन दोङ तामाङले आगजनी गरेका थिए । आगजनीमा परी शरीरको करिब ९० प्रतिशत भाग जलेका मकवानपुर स्थायी घर भएका तामाङको उपचारका क्रममा मृत्यु भएको थियो ।
छानबिन समितिले असोज १३ गते प्रतिवेदन तयार पारेको थियो । १३ पृष्ठको प्रतिवेदनमा घटनाको वास्तविक तथ्य, घटनाको विश्लेषण, चालकका परिवारका भनाइ तथा ट्राफिक प्रहरीको भनाइ समेटिएको छ ।
प्रतिवेदनमा आगजनी भएको बसको बीमा रकम उपलब्ध गराउन नेपाल सरकारले आवश्यक समन्वय गर्ने विषयसमेत उल्लेख गरिएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी पौडेलले बसको बीमा रकम तथा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने विश्वास व्यक्त गरेका छन् । बस व्यवसायीहरूले पनि प्रतिवेदनमा उल्लेख भएका विषयअनुसार भएको सहमति तथा सम्झौता शीघ्र कार्यान्वयन गर्न जोड दिएका छन् ।

प्रतिक्रिया